धरान / पूर्वको पर्यटनको व्यवसायिक विकास गर्ने उद्देश्यका साथ धरानमा इष्ट टुरिजम मार्ट गर्ने सहमतिका साथ आयोजक समिति गठन गरिएको छ । धरानको होटल सेछमा पूर्वका पर्यटनकर्मीहरुको भेलाले अग्रज पर्यटन व्यवसायी भविष कुमार श्रेष्ठको अध्यक्षतामा १ सय १ आयोजक समिति गठन गरेका हुन् । सो समितिले १७ सदस्यीय व्यवस्थापन समिति पनि गठन गरेको छ ।

श्रेष्ठकै अध्यक्षतामा गठित सो समितिको उपाध्यक्षमा कृष्ण शाह, सचिवमा रबिन गौतम र कोषाध्यक्षमा वासुदेव बराललाई चयन गरेका छन् । उक्त समितिमा विराटनगर, धरान, इटहरी, इलाम, भेडेटार, धनकुटा र झापाबाट पर्यटन व्यवसायीहरुको सहभागिता रहेको छ । चैत्र २३ गतेदेखि चैत्र २६ गतेसम्म हुने उक्त मार्टमा पूर्वका पर्यटकीय गन्तव्यहरुको प्रवर्धन गरिने छ । पूर्वका लक्षित पर्यटकहरु आउने स्थानका पर्यटन व्यवसायीहरुलाई मार्टमा आमन्त्रण गरिने छ ।

ट्राभल एजेन्सी र गन्तव्यका पर्यटन व्यवसायीबीच व्यवसायिक सम्बन्ध विकास र कारोबार हुने अपेक्षाका साथ सो मार्ट आयोजना गर्न लागिएको हो । यसका लागि अनुमानित १ करोड खर्च लाग्ने बताइएको छ । त्यसका लागि नेपाल पर्यटन बोडले ४० लाख रुपैयाँ विनियोजन गरेको भेलामा जानकारी गराइयो । यस्तो प्रकारको मार्ट भर्खरै काठमाडौंमा अन्तर्राष्ट्रिय ट्राभल एजेण्टको सहभागितामा हिमालय ट्राभल मार्ट भएको थियो । नेपालमै दोस्रो पटक र राजधानी बाहिर पहिलो पटक हुन लागेको हो । यत्तिको ठूलो र भव्य कार्यक्रम भएकोले पुरै १ नं. प्रदेशले यसबाट उपलब्धि पाउने भेलामा सहभागी उपाध्यक्षा कृष्णा शाहले बताए ।

सो भेलामा मेची पहाडी पर्यटन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत केशव धौरालीले यो कार्यक्रमले पूर्वमा जुर्मुराउँदै गरेको पर्यटनको ठोस विकासको गति लिने बताए । मेलाले ११ विभिन्न समिति र अनुगमन समिति गठन गर्ने समेत निर्णय गरेको छ ।