धरान । धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिताको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।आउने भदौ २५ देखि धरानमा आयोजना हुने प्रतियोगिताको बारेमा आज धरान मेघा कलेजमा तयारी पुरा भएको जनाएको हो ।
प्रतियोगितामा धरान आसपासका विद्यालयका १६ टिमले सहभागिता जनाउने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । प्रतियोगितामा १२ कक्षासम्म अध्ययन गरिरहेका खेलाडीले सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडीले सहभागिता जनाउनुपर्ने छ ।
प्रतियोगिताको विजेताले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले नगद १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने मोस्ट भ्यालुएवल प्लेयरले नगद २ हजार ५ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट स्कोरर, उदयीमान खेलाडीलेसमेत जनही नगद २ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइन खेलअघि थ्री पोइन्ट कम्पिटिसनसमेत हुनेछ । पहिलो चरणमा कम्पिटिसनमा सहभागी खेलाडीले १ मिनट थ्री पोइन्ट सट गर्नेछन् । फाइनल चरणमा छनोट भएका मध्येबाट एक मिनेटमा बढी पोइन्ट गर्ने पोइन्ट च्याम्पियन घोषित हुनेछन् । थ्री पोइन्ट च्याम्पियनले नगद पुरस्कार २ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको आयोजना धरानका उदयमान बास्केटबल खेलाडी रहेको दिवंगत रेवाहाङ राईको स्मृतिमा सुरुवात गरिएको हो ।धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । दश कक्षामा अध्यन गरिरहेको रेवाहाङ राईको असामयिक निधनपछि उहाको स्मृति र सम्मानमा अभिभावकले धरान मेघा हिमालयन कलेज र धरान बास्केटबल संघको सहकार्यमा गतवर्षदेखि अक्षयकोष स्थापना गरी प्रतियोगिता आयोजनाको सुरुवात गर्नु भएकाे हाे ।
अक्षयकोष दुई लाख रुपैयाँको रहेको धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले वताउनु भएको छ ।