काठमाडौँ   /   आर्थिक वर्ष २०८०र८१ को पहिलो साउन महिनामै काठमाडौँमा आपराधिक घटनामा वृद्धि भएको छ ।   गएको आर्थिक वर्षको साउनमा भन्दा चालु आर्थिक वर्षको साउनमा आपराधिक घटनामा वृद्धि भएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले  हिजाे पत्रकार सम्मेलनमा जानकारी गराएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिनाको तुलनात्मक घटना विवरण सार्वजनिक गर्दै आपराधिक क्रियाकलापका साथै बैंकिङ कसुरका मुद्दा पनि बढेको प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

प्राप्त विवरणअनुसार गएको आर्थिक वर्षको साउनमा एक हजार ४७ वटा अपराधका घटना दर्ता भएकामा चालु आर्थिक वर्षको साउनमा एक हजार दुई ७५ घटना दर्ता भएको छ । यस्तै विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको पक्राउ सङ्ख्या पनि बढेको छ ।

अघिल्लो आर्थिक वर्षको साउनमा सात सय ४१ जना पक्राउ परेकामा गएको साउनमा बढेर पक्राउ पर्नेको सङ्ख्य सात ६० जना रहेको छ । दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी बैंकिङ कसुरका रहेका छन् । बैंकिङ कसुरमा पाँच सय ६० वटा मुद्दा दर्ता भएका छन् । उक्त कसुरमा दुई सय १२ जना पक्राउ परेको पनि ढुङ्गेलले बताउनुभयो । अघिल्लो वर्षका साउनमा पाँच सय १६ वटा उजुरीमा ८१ जना पक्राउ परेका थिए । 

यस्तै अभद्र व्यवहारमा दुई सय ७९, चोरीसम्बन्धी कसुरमा ५५, ठगीमा ३५, लागूऔषधमा ३१, आत्महत्यासम्बन्धी कसुरमा ३७, जबरजस्ती करणीमा ३३, जुवामा १७, ज्यानसम्बन्धी कसुरमा एक सय नौ वटा उजुरी परेको सो क्रममा जानकारी गराइएको थियो ।

गएको साउनमा सबैभन्दा बढी अभद्र व्यवहार कसुरमा चार सय ३४ जना पक्राउ परेका परिसरले जानकारी गराएको छ । आर्थिक अपराधमा ६७ वटा निवेदन परेकोमा झण्डै एक करोड ठगी भएको भनी जाहेरी परेको पनि उहाँले बताउनुभयो ।