धरान /   धरान उपमहानगरपालिकाले बुधबार धरानमा बढ्दो डेङ्गु प्रकोप नियन्त्रणका लागि एक दिने अभियान चलाउने भएको छ । अभियानका लागि बुधबार सबै सरकारी तथा नीजि विद्यालयहरुलाई समेत विदा दिइएको छ । 

मंगलबार विहान बसेको कार्यापालिकाको आकस्मिक बैठकले विहान ७ बजेदेखि धरानका २० वटा वडामा एक समय लामखुट्टेका लार्भा खोजी नष्ट गर्ने अभियान चलाउन लागेको हो ।

यो रोग फैलाउने एडिज एजिप्टाई नामक लामखुट्टेले फुलपार्ने स्थान पहिचान गरि त्यसका लार्भा नष्ट गर्ने अभियान चलाउन लागिएको १५ नं वडाका वडाध्यक्ष नरेसकुमार इवारामले जानकारी दिनु भयो । १५ न‍‌ वडाले यस अघिदेखि नै टाेलटाेलमा फगिङ गर्ने लार्भा नष्ट गर्ने काम गरिरहेकाे उहाँले जानकारी दिनु भयाे ।

धरानमा दुुई महिना भन्दा लामो समयदेखि डेङ्गुको प्रकोपले प्रभावित छ । यहाँका नीजि क्लिनिक, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्थानमा  विरामीले बेड पाउन सकेका छैनन् । ८ जनाको मृत्यु भइसकेको छ भने झण्डै ३ हजार भन्दा बढी प्रभाविति भएको अवस्था छ । 

स्थानीय सरकारले डेङ्गु नियन्त्रण गर्न चासो नदेखाएको भन्दैं व्यापक आलोचना भए पछि मेयर हर्क साम्पाङले आज विहान आकास्मिक कार्यापालिका बैठक बोलाउनु भएको थियो । उक्त बैठकले बुधबार सबै वडाहरुमा सामाजिक संघ संख्या, टोल विकास संस्था, विद्यालयका विद्यार्थीलगायत परिचालिन हुने बैठक पछि धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराईले सूचना जारी गरि जानकारी गराउनु भएको छ ।