विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीबाट प्रहरीले घरेलु हातहतियार बरामद गरेको दाबी गरेको छ । आन्दोलनमा उत्रिएका केही आन्दोलनकारीबाट गुलेली र ढुंगाहरू बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताउनु भएको छ । 

प्रहरीले किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन हताजु राईसहित ३० जना आन्दोलनकारीलाई पक्राउ गरेको छ । उनीहरू प्रदेशसभा घेराउ गर्ने क्रममा पक्राउ पर्नु भएको हो । प्रहरीले प्रदेशसभा अगाडी र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वरिपरिको क्षेत्र सुरक्षा अवस्था कडा बनाएको छ । शान्ति सुरक्षा कायम गराउँदै जनधनको क्षति हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।  जिल्लाबाट मात्र नभएर प्रदेश प्रहरी, गण र तालिम केन्द्रहरूबाट थप मद्दत आउनेछ । सशस्त्र प्रहरी पनि त्यही संख्यामा परिचालन भएको एसपी पोखरेलले बताउनु भयो । 

कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका विभिन्न पहिचान वादी पार्टी र सङ्घ संस्थाले प्रदेश सभा घेराउ गर्न विराटनगर केन्द्रि भएका छन् ।  शनिवारबाटै प्रदेश सभा सचिवालय आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । 

कोशी प्रदेशसभा बैठक चलिरहँदा बाहिर सडकमा भने प्रदर्शन जारी छ । पहिचानवादीको आन्दोलनमा झडप हुँदा आधा दर्जनबढी प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । प्रदेशसभाको बैठकमा भने सांसदहरुले शून्य समय लिएर बोल्दै आन्दोलनकारीसँग छलफल गर्न तत्काल वार्ता समिति बताउन माग गरेका छन् ।