इलाम  /  वाथ रोगले थलिनु भएको छ उहाँ  तर हरेक दिन उहाँ घाँस काट्न जानु पर्छ । गाईको भकारो सोहोर्नु पर्छ । मेलापातधन्धा पनि भ्याउनु पर्छ । 

उहाँ अरु कोही नभएर इलामका नवल केमी राइ हुनु हुन्छ । उहाँ २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा इलामबाट निर्वाचित जनपक्षिय सांसद पनि हो । 

त्यो बेला निर्दलको बिपक्षमा बोल्नु गाहे थियो । यही गाहेको बिचमा पनि उहाँले पञ्चहरुलाई हराउनु भएको थियो । उहाँ जनपक्षिय उमेद्वारको रुपमा उठ्दै विजयीहुनु भएको थियो । त्यो निर्वाचनमा राष्ट्रिय पञ्चायत सदस्य जित्ने ५ जना मात्रै जनपक्षिय उमेद्वार थिए ।  पद्मरत्न तुलाधार, द्रोणप्रसाद आचार्य जागृत प्रसाद भेट्वाल र सोमनाथ प्यासी अधिकारीसँगै नवलकेमी राईले पनि चुनाव जित्नु भएको थियो ।  

जनपक्षिय उमेद्वारको रुपमा त्यो बेला रापस जितेका अन्य नेतााहरु बहुदल पछि देशका बिभिन्न अहोदामा पुगे । भरखरै मात्रै सोमनाथ प्यासी अधिकारी तत्कालिन प्रदेश नम्बर १ को प्रदेश प्रमुख हुनु भयो । तर राष्ट्रिय पञ्चायतमा जनताको पक्षमा वकालत गर्ने नवल भने बहुदल पछि भने गुमनाम हुनु हुन्छ । २०४५ सालदेखि नै बाथ रोगले थलिएका राईलाई एमालेले सुरु गरेको ग्रास रुट अभियान अन्तरगत खोजी अभियान थालेको छ । 

उहाँ इलामको चुलाचुली गाँउपालिका साक्फारमा बस्नुहुन्छ । ग्रासरुट अभियान चुलाचुली गाँउपालिकाका संयोजक तथा एमालेका केन्द्रिय सदस्य रविन कोइरालाले पार्टीलाई योगदान गरेकाहरुको खोजी अभियानमा पार्टी लागेको बताउनु भएको छ । उहाँले चुलाचुलीको साक्फारामा रहेका नवलकेमी गुमनाम भएकाले पार्टी उहाँको अवस्था बुझ्न जान लागेको बताउनु भएको छ ।  

उहाँको योगदान उच्च छ । उहाँको मुल्याङ्कनलाई सम्मान गर्दै पुन पार्टीमा सक्रिय बन्न अनुरोध गर्न जान लागिएको हो । 

वि. सं. २००५ सालमा साक्फाराको दशमी बजारमा जन्मिएका उहाँ साक्षर मात्रै हुन् । उहाँले पञ्चायती व्यवस्थाको अन्त्य गर्ने उद्देश्यले जनपक्ष मञ्च मालेबाट राजनीतिक यात्रा सुरु गर्नु भएको थियो ।