विराटनगर । भूमिगत कालमा पार्टीका नेताहरूलाई सेल्टर दिने सेल्टर दाताहरूको विराटनगरमा खोजी अभियान शुरु भएको छ । 

विभिन्न जिल्लाबाट विराटनगरमा आएर बसेका र पार्टीमा नजोडिएका सेल्टर दाताहरूलाई नेकपा एमाले विराटनगरले खोजी अभियान शुरु गरेको हो ।

मिसन ग्रास रुट अभियान अन्तरगत सेल्टरदाता महानगरपालिका भित्र बसोबास गरेकाले सेल्टरदाताहरूलाई सम्मान गर्न खोजी अभियान शुरु गरिएको एमाले विराटनगर महानगरका अध्यक्ष सागर थापाले जानकारी दिनु भयो ।  

उहाँले धेरै जिल्लाबाट आएर विराटनगरमा सेल्टरदाताहरूलाई बस्नु भएको छ । उहाँहरू पार्टीमा जोडिसक्नु नभएको पनि हुन सक्छ थापाले भन्नु भयो , पार्टी र नेतालाई अफ्ठेरो अवस्थामा सहयोग गर्नेहरूलाई पार्टीले सम्मान गर्छ । 

महानगरसँग सबैको रेकर्ड छैन । रेकर्ड राख्न र अवस्था पत्ता लगाउन पनि सेल्टरदाता खोजी अभियान थालिएको हो । 

उहाँले महानगर पालिकामा बस्ने सबैभन्दा बढी कर तिर्नेहरूलाई पनि महानगरले सम्मान गर्ने बताउनु भयो । यसका लागि पार्टीले बढी कर तिर्नेहरूको पनि नामावली सङ्कलन थालेको बताउनु भयो ।  

मिसन ग्रास रुट अभियान अन्तरगत महानगरले जेष्ठनागरिक राष्ट्रका लागि योगदान दिने बिभिन्न क्षेत्रका नागरिकलाई समेत सम्मान गर्ने कार्यक्रम बनाएको छ । 

ग्रास रुट अभियान अन्तरगत विराटनगर महानगरको वडा नम्बर ५ र १२ नम्बरमा विस्तारित भेला र प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ । 

मोरङमै ग्रास रुट अभियान अन्तरगत कोसी प्रदेशका बिभिन्न पालिकाहरूमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मोरङको सुन्दर हरै चा नगरपालिकामा अखिल नेपाल महिला सङ्घका कार्यकर्ताहरूलाई प्रशिक्षण दिइएको छ । 

एमाले केन्द्रीय सदस्य मेनका काफ्ले, अनमेसंघ केन्द्रीय सदस्य धना तामाङ, एमाले सुन्दर हरैचा नगरपालिकाका अध्यक्ष मातृका ढकाल,अनेम सङ्घ मोरङ अध्यक्ष टिका भट्टराई चापागाईँले प्रशिक्षण दिनु भएको छ । प्रशिक्षण कार्यक्रममा नगर स्तरीय कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।