धरान /  किराती समुदायको नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित प्रदेश स्तरिय यले दोङ थ्री वाइ थ्री ओपन महिला वास्केटवल प्रतियोगितामा धरान मेघा अल स्टार टिम विजयी भएको छ ।  

शनिबार सम्पन्न फाइनलमा विर्तामोड टिम झापालाई १३÷३ को फराकिलो अन्तरले हराउदै धरान मेघा विजेता बनेको हो । विजेता र उपविजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथि एवं किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले पुरस्कार तथा मेटल वितरण गर्नु भएको छ ।  धरान बास्केटवल संघको आयोजनामा भएको प्रतियोगिताको विजेता धरान मेघाले नगद ७ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता विर्तामोडले नगद ३ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ । 

प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर घोषित हुदै धरान मेघाकी डा.आशा राईले ट्रफीसँगै नगद १ हजार ५ सय पुरस्कार पाउनु भयो । प्रतियोगितामा इलाम, झापा, मोरङ टिमसंगै धरानका विभिन्न स्कुल तथा कलेजको गरी कुल १८ टिम सहभागी थिए । 

कार्यक्रममा नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, सुनसरी अध्यक्ष नारायण सुवेदी, धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।