काठमाडौ  / चालक तथा सहयोगीका रूपमा राखिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० जनाभन्दा धेरै कर्मचारीलाई गृह मन्त्रालयले बुधबार फिर्ता गरेको छ । सुरक्षाकर्मीको दुरुपयोग रोक्ने अभियानअन्तर्गत प्रहरी फिर्ता गरिएको मन्त्रालयले जनाएको छ । 

गृहमा राखिएकामध्ये धेरैजसो चालक थिए । निजामतीका चालकभन्दा प्रहरीका चालक अनुशासित हुने भएकाले गृहका कर्मचारीले प्रहरी चालक राख्दै आएका थिए । विगतमा पनि यस्ता चालक फिर्ता गराउने प्रयास सफल हुन सकेको थिएन । गृहमन्त्री रवि लामिछानेले सुरक्षाकर्मी दुरुपयोग रोक्न निर्देशन दिएपछि मन्त्रालयमा सुरक्षामा खटिनेबाहेकका प्रहरी फिर्ता भएका हुन् । 

गाडीको सुविधा नै नपाउने गृहका कर्मचारीले पनि चालकसहित यस्तो सुविधा लिँदै आएका छन् । कार्यालय प्रमुखबाहेक सहसचिवसम्मले चालक पाउनेमा मन्त्रालयका सबैजसो उपसचिवले गाडीको सुविधा प्रयोग गर्दै आएका छन् । यसअघि मन्त्रीको सचिवालयमा पनि सुरक्षाकर्मीको दुरुपयोग हुँदै आएको थियो । 

मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो । ‘कार्यविधि पालनाको सुरुवात मन्त्रालयबाटै थालेका हौँ,’ मन्त्रालयका एक अधिकारीले भन्नेनु भयाे ‘सुरक्षा निकायबाट पनि पनि फर्काउने काम भइरहेको छ ।’ केही प्रहरी परिचरसमेत मन्त्रालयमा राखिएको थियो । 

सोमबार गृहमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले सुरक्षाकर्मी दुरुपयोग रोक्न निर्देशन दिनु भएकाे थियाे । सोहीअनुसार मन्त्रालयले सुरक्षाकर्मी फिर्ता गरेको हो । तर, गाडी र इन्धनको दुरुपयोग भने मन्त्रालयमा कायमै रहेको स्रोत बताउँछ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता गराउन थालेका छन् । ‘विगतमा जस्तो ठूलो संख्या छैन,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘केहीले फर्काउन आनाकानी गरेका छन् ।’

पिएसओमा अवकाशप्राप्त प्रहरीलाई विभेद 

उच्च पदबाट अवकाश पाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधामा आफूहरूमाथि विभेद भएको गुनासो गरेका छन् । उच्च पदबाट अवकाश पाउँदा पनि आफूहरूको सुविधा कटौती भएको उनीहरूको भनाइ छ । 

विगतमा एआइजी तथा डिआइजीबाट अवकाश पाएका प्रहरीले अवकाशपछि सुरक्षाकर्मीको सुविधा पाउँथे । तर, दुई वर्षअघि कटौती गरिएको थियो । नेपाली सेनामा भने सहायक रथी र त्योभन्दा माथिका अधिकारीले अवकाशपछि पनि यस्तो सुविधा पाउने गरेका छन् । 

‘सुरक्षा जोखिम प्रहरी अधिकारीलाई अवकाशपछि पनि धेरै हुन्छ,’ एक एआइजीले भन्नेनु भयाे ‘सुरक्षा निकायको विशिष्ट श्रेणीबाट अवकाश पाउँदा सुरक्षा नपाउने भनेको हामीमाथिको अपमान पनि हो ।’ केही अवकाशप्राप्त प्रहरीले आइजिपीलाई आग्रह गरेर सुरक्षाकर्मी राखेका थिए । गृह मन्त्रालयको निर्देशनपछि उनीहरूलाई फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रक्रिया थालेको छ ।

नयाँ पत्रिकाबाट