विराटनगर .  विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलले प्रदेश नम्बर १ का पत्रकारहरूको उपचार निःशुल्क र विभिन्न सेवाहरूमा छुटसहितको स्वास्थ्य सेवाहरूमा सहुलियत दिने भएको छ । 

अस्पतालले पत्रकारको उपचारमा सहुलियत दिनका लागि पत्रकार महासंघ प्रदेश समितिसँग मंगलबार सम्झौता गरेको छ । अस्पतालको तर्फबाट सम्झौता पत्रमा अपरेसन डाइरेक्टर राजेश भट्टराई र पत्रकार महासंघ प्रदेश नम्बर १ को तर्फबाट अध्यक्ष लिलाबल्लभ घिमिरेले हस्ताक्षर गर्नु भएको छ ।  विराटनगरमा भएको दोश्रो साधारण सभाकोअवसरमा सम्झौता गरिएको हो ।

अस्पतालले पत्रकार महासंघमा आबद्ध भएका सदस्यहरूको ओपिडी, आकस्मिक, एम्बुलेन्स, प्याथोलोजी , एक्सरे, अल्ट्रासाउन्ड, ई सिजी, इन्डोस्कोपी, बेड चार्ज, फिजियोथेरापी, इको सेवाहरू निःशुल्क रहेको अस्पतालका अपरेसन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिनु भयो । यस्ता पत्रकारका परिवारका लागि ५० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । अस्पतालले परिचय पत्र जारी गरेर प्रदेश समितिको सिफारिसमा यो सेवा दिने भएको हो ।