काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आज भएको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने निर्वाचन आयोगले जनाएको छ । 

 प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने जानकारी दिनु भएको छ । 

आज बिहान भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थपलियाले यस्तो जानकारी दिनु भएको हो । उहाँका अनुसार आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ भनेर र ७ बजेसम्म मतपेटिका संकलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने छ । 

हिमाली जिल्लामा भने मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट मतगणना सुरु गर्ने उहाँले जानकारी दिनु भयो ।  निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदान हुनेमा आयोगले दावी गरेको छ । 

प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने  आयोगको तयारी छ । मंसिर २२ गते भित्र सबै नतिजा राष्ट्रपतिलाई बुझाइने जानकारी दिनुभयो ।