धरान  / आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न सुनसरीका राजनीतिक दलहरुलाई निर्वाचन आयोगले आग्रह गरेको छ । 

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार सर्वदलीय÷सर्वपक्षीय बैठक बसी निर्वाचन आचारसंंहिता कार्यन्वयन गर्न सबै राजनीतिक दलहरुले प्रतिबद्धता जनाएको बताउनु भएको छ । 

उहाँका अनुसार हाल कार्यान्वयनमा रहेको आचारसंहितअन्तर्गत आज उम्मेदवारी दर्ता गर्न २५ जनाभन्दा बढीको सहभागिता हुन नपाइनेसहित बाजागाजा, झाँकी लैजान निषेध गरिएको छ ।  शक्ति प्रर्दशन गर्न आयोगले निषेध गरेको छ ।  

“प्रतिनिधिसभाअन्तर्गत ४ र प्रदेससभाअन्तर्गत  ८ वटै निर्वाचन क्षेत्रको मनोनयन दर्ताका लागि सुनसरीमा  आवश्यक तयारी पूरा भएको छ”, उहाँले भन्नुभयो, “राजनीतिक दलहरुसहित सरोकारवाला पक्षहरुबाट आचारसंहिता पालना गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले जनाएको ऐक्यबद्धताले हौसला बढेको छ ।”

यही असोज १२ गतेदेखि कार्यान्वयनमा आएको निर्वाचन आचारसंहितामा अघिल्ला निर्वाचनको भन्दा आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा प्रचारप्रसारका क्रममा बढीमा १० वटा झन्डा प्रयोग गर्न पाइने, राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने, मतदानको १७ दिन अघिदेखि मात्र प्रचारप्रसार गर्न पाइने, उम्मेदवारले सम्पत्ति विवरण र वैयक्तिक विवरण (बायोडाटा) फाराम बुझाउनुपर्ने, २५ जनाभन्दा बढी भेला भएर मनोनयनपत्र पेस गर्न र प्रचारका क्रममा मतदाताको घरदैलोमा जान नपाइनेलगायतका व्यवस्था थप गरिएको छ ।