धरान / सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोशी व्यारेजका ३४ ढोका खुला गरिएको छ । साँझ ६ बजेको मापन अनुसार सप्तकोशीको पानीको बहाव २ लाख ३१ हजार ९२० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ । 

३ बजेको मापनमा २ लाख २३ हजार ४७५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको थियो । ३२ वटा ढोका खुल्ला गरिएको थियो । पानीको वहाव बढेर गए पछि सुनसरी प्रशासनको आग्रहमा ३४ वटा ढोका खुल्ला गरिएको हो । 

पानीको बहाव बढेसँगै ५६ मध्ये ३४ ढोका खुला गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो । शनिबार मध्याह्न ब्यारेजका २९ वटा ढोकामात्रै खोलिएको थियो ।

पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाव अस्वभाविकरुपमा बढ्ने अनुमान गरिएको छ । 

कोसी नदीमा पानीको अत्यधिक बहाव हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको यादवले जनाएका छन् । तटिय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई हाइअलर्टमा राखिएको उहाँले बताउनु भयो ।  

सप्तकोसी नदीमा अस्वभाविक रुपमा पानीको बहाव हुँदा तटिय क्षेत्रका वासिन्दालाई सुरक्षित रहन उहाँले आग्रह गर्नु  भएको छ । आज बिहानबाट सप्तकोसी नदीमा पानीको बहाव बढ्दा सप्तकोसीले धार परिवर्तन गर्दा प्रभावित भएकाहरु थप जोखिममा परेका छन ्। बिहीबारबाटै घाम लागेका कारण सप्तकोसी नदीमा पानीको मात्रा घट्दै गएको थियो । तर शनिवार विहान र दिउसो परेको पानीले झन बढेर गएको छ । 

पानी नरोकिए पछि सुनसरी र उदयपुरमा पर्ने श्रीलंका टप्पुबाट विस्थापित भएकाहरु घर फर्कन सकेका छैनन् । कोशीले धार परिवर्तन गरि पश्चिम क्षेत्रमा कटान गरि प्रवेश गरेको छ । जसका कारण हजारौं स्थानीयवासी प्रभावित भएका छन् । स्थानीय प्रशासनले नदिलाई पुरानै धारमा ल्याउन अस्थायी बाधँ बाध्ने काम गरिरहेको छ ।