धरान  / धरान उपमहानगरपालिकमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव उद्धवप्रसाद रिजाल आउनु हुने भएको छ । उहाँ आजै धरानमा हाजिर हुने कार्यक्रम तय भएको छ । 

 मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका बैठक तथा प्रशासन महाशाखाका सचिव रहेर काम गर्नु भएका रिजालको यही श्रावण १२ गते सरुवा भएको थियो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार उहाँको बिदाइ समेत गरेको छ । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव विनोदप्रकाश सिंहले सचिव रिजाललाई मायाको चिनो प्रदान गर्नुभयो । उक्त अवसरमा प्रमुख सचिव सिंहले छोटो समयको सङ्गतमा रिजाललाई कामप्रति लगाव भएको एक जुझारु कर्मचारीको रुपमा आफूले बुझेको अनुभव सुनाउनुभयो । बिदाइ हुने क्रममा सचिव रिजालले आफ्ना लागि बिदाइ कार्यक्रम कुनै नौलो नभएको उल्लेख गर्नुहुँदै अहिलेको बिदाइ २५ औं पटकको भएको बताउनुभयो । 

सचिव रिजाल सहसचिवमा बढुवा भएपछि पहिलो पटक प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २०७८ माघ २७ गते हाजिर हुनुभएको थियो । त्यसअघि उहाँ संघीय सरकारको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिव सरहको कर्मचारीको रुपमा कार्यरत हुनुहुन्थ्यो । रिजालले २०४७ सालमा जिल्ला शिक्षा कार्यालय ओखलढुंगाबाट मुखिया पदबाट जागिर सुरु गर्नुभएको हो । 

स्थानीय तहमा रिजाल छैटौं पटक प्रमुख प्रशासकीय अधिकृतका रुपमा धरान आउन लाग्नु भएको हो ।। यसअघि उहाँ भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका र सोही जिल्लाको मध्यपुर ठिमी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भइसक्नुभएको छ । त्यस्तै, काठमाडौंको कीर्तिपुर नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भइसकेको उहाँको अनुभव छ ।

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल विरगञ्ज उपमहानगरपालिकामा सरुवा भए पछि रिजाल उहाँ आउनु भएको हो । पौडेल १० अघि नै रमाना लिएर आफ्नो कार्यक्षेत्र जानु भए पछि धरानमा गणेश खतिवडा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहनु भएको थियो ।