धरान  / उपमहानगरपालिकाको नगरप्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौज भएको विषयलाई लिएर धरानका नगरप्रमुख हर्कराज राई(साम्पाङ) ले २ जना विरुद्ध प्रहरीमा जाहेरीमा दिनु भएको छ । 

आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित संघर्ष समितिले नगरप्रमुख साम्पाङविरुद्ध नाराबाजी गदैं कार्यकक्षको सिसामा तोडफोड गरेका थिए । वार्ताको लागि तयारी भइरहेको बेला नगर प्रमुख साम्पाङले मलाई सोधेर रकम राखेको हो ? भने पछि आक्रोसित पीडितहरुले कार्यकक्षमा तोडफोड गरेको बताइएको छ । 

साम्पाङले सोमबार इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिनु भएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले नगर प्रमुख साम्पाङले जाहेरी दिएको जानकारी दिनु भएको छ । बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदिप बाँस्तोलाविरुद्ध जाहेरी दिएको बताइएको छ । प्रहरीले पक्राउका लागि अदालतबाट पक्राउ पूर्जी लिने तयारी गरेको प्रहरीले जनाएको छ । हुलइज्जत  अभद्र व्यवहारको जाहेरी आएको र प्रक्रिया अगाडी बढाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिनु भयो । मंगलबार अदालती प्रक्रियाको लागि पठाइने उहाँले बताउनु भयो ।

आइतबार छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले ‘मलाई सोधेर पैसा राख्न दिएको हो ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरुले नगरप्रमुख  विरुद्ध नाराबाजी गदैं उहाँको कार्यकक्षको सिसासमेत फुटाई दिएका थिए । यता नगर प्रमुख साम्पाङलेभने राजनीतिक षड्यन्त्र भन्दैं प्रहरीमा उजुरी दिनु भएको हो । व्यक्तिलाई आक्रमण नभई नगर सरकार माथिको आक्रमण भएको उहाँको ठहर छ ।