इटहरी /२०७२ को ‘राष्ट्रिय लिग’ पछि पहिलो पटक ए डिभिजन क्लवद्वय थ्रिस्टार र मनाङ मस्र्याङ्ग्दी मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा आज आमनेसामने हुँदै छन् ।
दुईवर्ष ४ महिनापछिको उपाधि होडमा कस्ले बाजी मार्ला भनेर इटहरीबासी मात्रै हैन, देश नै व्यग्र प्रतीक्षामा छ । किनकी यो सिजनको मध्यतिर थ्रिस्टारको पुनरागमन विशेष रुपमा हेरिएको छ । खप्तड गोल्डकपमा क्वाटरबाटै पराजय भोगेर फर्किएको थ्रिस्टारले इटहरी गोल्डकपमा लय समातेको छ । जहाँ दुई हस्ती विभागीय टिम एपिएफ र त्रिभुवन आर्मी क्लवलाई पराजित गरेर उपाधि होडमा छ । रमाइलो पक्ष त के भने खप्तडमा आर्मीसँगै थ्रिस्टारले पराजय भोगेको थियो । इटहरीमा स्थिति ठीक उल्टो भएको छ ।
‘यो उपाधिलाई निक्कै महत्वका साथ हेरिएको छ ।’ प्रशिक्षक मेघराज केसी भन्छन्, ‘यसले क्लव कतातिर जान्छ भन्ने पनि डिसिजन गर्नेछ ।’ मोर्डन फुटबलमा पाइला टेकेको नेपाली फुटबलमा डेढवर्ष थ्रिस्टार आन्दोलित बन्यो । पछिल्लो उपाधि ‘भारत रत्न ब्रोदोलाई ट्रफी’ उचालेपछि थ्रिस्टार एन्फासँग ‘एएफसी प्लेअफ खेल्न’ बाट बन्चित गरेको भन्दै क्षतिपूर्ति माग्दै मैदान ओर्लिएन् ।
यही बीचमा मनाङले केही उपाधिहरु जितिरहे । यो सिजनमा मनाङले ‘दुहवी गोल्डकप, नारायणघाटको जेसिज गोल्डकप’ उचाल्यो । काकडभित्ता गोल्डकप र सतासी गोल्डकपमा उपविजेता बन्यो । गत सिजनमा सर्वाधिक चर्चाको खप्तड र आहा–रारासहित चारवटा गोल्डकप उचालेको थियो । तर, डेढवर्ष अघिको स्थिति फरक थियो । यी दुई टोलीबीच ‘राष्ट्रिय लिग’ मा भेट भएको थियो । जहाँ थ्रिस्टारले ३–१ ले बाजी मारेको थियो । यो नै थ्रिस्टार र मनाङ बीचको अन्तिम भेट थियो ।
दुबै टिममा राष्ट्रिय खेलाडी भरिभराउ छन् । त्यसका अलवा विदेशी खेलाडी पनि । थ्रिस्टारमा ६ जना राष्ट्रिय खेलाडी आवद्ध छन् । त्यो हिसावले थ्रिस्टार शसक्त मान्नुपर्छ । तर, मनाङमा पनि ५ जना राष्ट्रिय खेलाडी छन् । दुबै टिममा तीन–तीन जना अफ्रिकन खेलाडीहरु सम्मिलित छन् । दुबै टिमका प्रशिक्षकले जित्ने आधारमा ‘टिमवर्क’ बताउँदै आइरहेका छन् ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङ भन्छन्, ‘हाम्रो बलियो पक्ष भनेको टिमवर्क हो । त्यही टिमवर्कले हामी जित्ने दाबी गर्छौ ।’ थ्रिस्टारका सन्तोष साहुँखल झण्डै डेढवर्ष पछि मनाङमा डेब्यु मारेका छन् । खेलप्रेमीलाई ‘सरप्राइज’ दिएर मनाङबाट मैदान उत्रिएका उनले सेमिफाइलनमा आफ्नो कौशल देखाए । डेढवर्ष अघि उनी थ्रिस्टारमा आवद्ध थिए ।
यो सिजनमा मनाङले पाँचवटा खेल खेलिसकेको छ । अनुभवका आधारमा मनाङ बलियो मान्न सकिन्छ । ‘यसको मतलव हामी बलियो छौं भन्ने होइन्, डेढवर्षसम्म थ्रिस्टारको लोगो मात्रै प्रयोग भएन, खेलाडीहरु त खेलिरहेकै छन नी ।’ प्रशिक्षक लोप्साङ भन्छन् । दुबै टिमका खेलाडीहरुले खेलाडीको कौशल बुझेका छन् । मनाङका भरपर्दा खेलाडी मध्ये सन्तोष साहुँखल, अनिल गुरुङ, सुजल श्रेष्ठ, विशाल राई, विराज महर्जन, हेमन गुरुङ हुन् । फ्रन्टमा सन्तोष र अनिल देखिने छन् । विशाल, सुजल, हेमनले मिड लाइन कभर गर्ने छन् भने विराजले डिफेन्स लाइनमा रहने छन् । त्योसँगै तीन जना विदेशी खेलाडीहरु पनि फ्रन्टलाइन र मिड लाइनमा रहने छन् ।
यस्तै रणनीतिमा थ्रिस्टार पनि रहन्छ । सर्वाधिक चर्चाका विमल घर्ती मगर, सुनिल बल फ्रन्टमा देखिने छन् । जसमा विदेशी खेलाडीहरुले पनि साथ दिने छन् । रजिन धिमाल, बिक्रम लामा, अनन्त तामाङले रक्षपंक्तिमा आफ्नो भूमिका निभाउने छन् । बुद्ध चेम्जोङ, निराजन खड्का, विजय धिमाललगायतका अन्य भरपर्दा खेलाडी पनि थ्रि स्टारसँग रहने छ । ‘प्लेमेकरको भूमिकामा यही खेलाडीहरु हुनेछन् ।’ प्रशिक्षक मेघराज केसी भन्छन् । दुबै टिम ४–४–२ को फर्मेसनमा मैदानमा उत्रिदै छन् । तर, थ्रिस्टारका प्रशिक्षक केसी थप्छन्, ‘खेलको सिच्वेशन अनुसार फर्मेशन चेन्ज पनि हुन सक्छ ।’
उनका अनुसार मोर्डन फुटबलमा रक्षात्मक भन्दा ‘एट्याकिङ’ खेल हुन्छ । ‘टिमवर्क र डेडिकेसन नै क्लवको जित्ने आधार हो ।’ केसी बताउँछन् । मनाङले झापा–११ र पाहुँना टिम गरिफा स्पोटिङ क्लव भारतलाई जितेर थ्रिस्टारसँग उपाधि होडमा छ । त्यो हिसावले पनि दुबै टोलीका प्रशिक्षकले एकले अर्कोलाई कम आँक्न नमिल्ने तर्क गर्दै आइरहेका छन् । ‘५०–५० मा मैदान उत्रिदै छौं ।’ दुबै प्रशिक्षक भन्छन् । खेल मैदानका हिसावले इटहरी दुबै टोलीको लागि नयाँ हो ।
पुरस्कार राषीले इटहरीलाई नेपाली फुटबलमा स्थापित गराउँदै छ । जित्नेले १२ लाखसहित मदन भण्डारीको अढाई तोला सुन अंकित लोगोसहित ८० तोला चाँदीको ट्रफी पाउँदै छन् । उपविजेताले ५ लाख प्राप्त गर्दै छ । जित होडमा उभिएका मनाङ र थ्रिस्टारलाई कुन ट्रफी जाँलाअाजकाे फाइलन खेलले बताउँला ?