धरान / धरान उपमहानगरपालिकाले धरान वडा नं. ५ स्थित रहेको खैरेनी कृषि समुहलाई विषादी छर्ने स्प्रे ट्याङ्की र एग्रोनेट प्रदान गरेको छ ।
संघीय सरकारको शसर्त अनुदान अन्र्तगत कृषि समुहलाई १० थान विषादी छर्ने स्प्रे ट्याङ्की र ४ थान एग्रोनेट (तरकारीजन्य खेती लगाएको ठाउँको लागि उपयोगी बार) प्रदान गरिएको मेयर तिलक राईले जानकारी दिनु भयो ।
मेयर राई र उपमेयर मञ्जु भण्डारीको उपस्थितिमा कृषकलाई उक्त सामान हस्तान्तरण गरिएको हो ।
मेयर राईले कृषि पेशाप्रती आकर्षण बढ्दै गएको बताउँदै स्प्रे ट्याङ्की र एग्रोनेटको सहि ढंगबाट सदुपोग गर्न आग्रह गर्नुभयो । मेयर राईले उक्त सामग्री समुहलाई प्रदान गरिएकाले सबैले मिलेर चलाउन सक्ने बताउनु भयो ।
धरान उपमहानगरका कृषि शाखा अधिकृत नगेन्द्र तामाङले संघीय सरकारको शसर्त अनुदान अन्र्तगत कृषि शाखामा ९ लाख रुपैयाँ बजेट आएको जानकारी दिनुभयो । सोही बजेट अन्र्तगत धरान ५ मा रहेको खैरेनी कृषि समुहलाई १ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको अधिकृत तामाङले बताउनुभयो । अन्नबालीमा लाग्ने रोग र कीरा मार्न प्रयोग गरिने जैविक विषादी छर्न स्प्रे ट्याङ्की र किसानहरुले लगाएको तरकारी खेतीका लागि एग्रोनेटले ठूलो मद्दत गर्ने अधिकृत तामाङको भनाई छ । खैरेनी कृषि समुहमा ४८ जना छन् ।