काठमाडौं / यातायात मजदुर बढि जोखिममा रहेको भन्दैं नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सम्पूर्ण यातायात श्रमिकहरुलाई तत्काल कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
संगठनको केन्द्रीय कमिटीको आठौं बैठक तथा प्रदेश कमिटीहरुसँगको विस्तारित बैठकले रोग र भोक दुबै यातायात श्रमिकहरुका लागि भयानक बनेको भन्दै श्रमिकहरुलाई खोपको व्यवस्था गर्दै स्वास्थ्य मापदण्ड तोकेर काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

संगठनका अध्यक्ष भीम ज्वाला राई तथा महासचिव नवराज घिमिरेद्धारा जारी विज्ञप्तीमा यातायात श्रमिकहरु पनि कामको प्रकृतिका हिसावले आम सर्वसाधारणको पहुँचमा रहेर काम गर्नुपर्ने पेशा भए पनि हालसम्म खोपको व्यवस्था नगरिएका कारण यसले श्रमिक र समाजलाई नै खतरा निम्त्याउन भनिएको छ ।

खाद्यान्न समस्यामा परेका यातायात श्रमिक तथा विपन्न वर्गका नागरिकहरुलाई खाद्यान्न सामग्री सहितको राहतको घोषणा गर्न पनि संगठनले माग गरेको छ । लामो समयदेखि जारी लकडाउनका रोजगारी गुमाएका यातायात श्रमिकहरु विचल्ली भएको भन्दै संगठनले उनीहरुका आश्रित परिवार आधारभूत आवश्यकता (खाद्यान्न तथा आवास) बाट वञ्चित हुनुपरेको जनाएको छ ।

संगठनले कोभिडका संक्रमितहरुलाई उचित उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका नेता, कार्यकर्ता तथा सदस्यहरु मध्ये २५ जनाको ज्यान गईसकेको र १ सय ९२ जना कोरोना संक्रमित भएको भन्दै हालसम्ममा ११ लाख यातायात श्रमिकहरु मध्ये ५७ जनाको मृत्य भएको र ५ सय ११ जना कोरोना संक्रमित भएको संगठनले जनाएको छ ।

यातायात श्रमिक तथा स्वरोजगारहरु तथा व्यवसायीहरु यो महामारीका कारण अतिप्रभावित भएको भन्दै यसबाट पार पाउन श्रमिक तथा रुवरोजगारहरुलाई राहत वा कर्जा सहुलियतको व्यवस्था गर्न, यातायात क्षेत्रको पुनस्र्थापनाका लागि प्याकेज घोषणा गर्न पनि माग गरेको छ ।

कोभिड–१९ को त्रास, महिनौदेखि जारी निषेधाज्ञाले यातायात क्षेत्रमा पारेको गम्भीर असर यातायात श्रमिकहरुको जीवन र जीविकामा यसको प्रभाव र भावी कार्यभारका विषयमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीको आठौं बैठक जेठ २८ गते र प्रदेश कमिटीका अध्यक्ष र सचिवहरुसंगको विस्तारित बैठक जेठ २९ गते भर्चुअल माध्यमबाट गरिएको थियो ।
यसविच केन्द्रीय सदस्य लक्ष्मी बनियाको समन्वयमा धरानमा रहेका लोड अनलोड मजदुरहरुलाई शनिवार राहत सामाग्री वितरण गर्नु भएको छ ।

197499448_487349499213450_5419726261383910459_n 198774789_487349459213454_5160303600273074504_n