धरान । धरान उपमहानगरपालिकालाई धरानका राजनितिक दलहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् ।

कोभिड १९ को महामारीमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवामा लापारबाही र भ्रष्टाचार भएको भन्दै यसलाई नियन्त्रण गर्न माग राख्दै मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएका हुन् । साथै राजनितिक दलहरुले लकडाउनको समयमा धरानमा महंगी तथा कालोबजारी बढेको प्रति ध्यानाकर्षण गराउँदै मेयर राईलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै मेयर राईले मूल्यवुद्धि र कालोबजारीको विषयमा धरान उपमहानगरका कर्मचारीहरुले निरन्तर रुपमा बजार अनुगमन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उपमेयर ज्यूको नेतृत्वमा अनुगमन समिति रहेको र क्रियाशिल पनि रहेको जानकारी गराउँदछु ।’ उपमहानगरपालिकामा लकडाउन गर्नुभन्दा अगाडी धरान स्थित कृषि उपज बजार व्यवस्थापन समिति र उद्योग बाणिज्य संघसँग छलफल गरेर यस विषयमा सहकार्य गरिएको थियो । धरानमा सागसब्जी र फलफुल अभाव हुन नदिनका लागि कृषि उपज बजारलाई संयोजन गर्ने जिम्मा दिएको बताउदै मेयर राईले भन्नुभयो, ‘धरानमा कहि कतै तरकारी, सागसब्जी र फलफुल अभाव भयो, मूल्यवृद्धि भयो भने हामिले तुरुन्तै एक्शनमा जाने र आपूर्ति गर्ने व्यवस्था मिलाएका छौं ।’

मेयर राईले पनि बिपी प्रतिष्ठानमा व्यापक रुपमा लापारबाही भइरहेको आफुले पनि पाएको बताउनु भयो । केही समय अघि धरान उपमहानगरपालिकाकै नेतृत्वमा राजनितिक दलको प्रतिनिधिहरुसहित प्रतिष्ठानका पदाधिकारीहरुसँग छलफल गरिएको स्मरण गराउँदै मेयर राईले प्रतिष्ठानकापदाधिकारीलाई सुधार गर्नस्थानीय तहको प्रमुखका हैसियतले सुझाव दिएको तर कार्यन्वयन नगरेको बताउनु भएको छ ।
‘दलहरुसहितको छलफलमा सब ठिक छ । अक्सिजन तयार छ । अरुलाई पनि दिन नसकिने अक्सिजन छ भनेर भिसी सापले भन्नु भएको थियो ।’–मेयर राईले भन्नुभयो–‘तर पछिल्लो समय अक्सिजन प्लान्टमा समस्या आएको खबर आयो अक्सिजन अभावले विरामीको मृत्यु भएको पनि सुनियो । यो राम्रो होइन ।’
बिपी प्रतिष्ठानलाई सहयोग गर्न स्थानीय तह तयार रहेको उहाँको भनाई थियो । अहिले प्रतिष्ठानका उपकुलपतिलगायत माथिल्लो तहका पदाधिकारीहरु सम्पर्क नभएको बताउँदै तल्लो तहका कर्मचारीहरुसँग मात्र सम्पर्क भइरहेको मेयर राईले जानकारी दिनुभयो । धरान उपमहानगरपालिकाले यस विषयमा समन्वय गर्ने मेयर राईको भनाई छ ।

मङ्गलबार धरानका दल नेपाली कांग्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, जनमुक्ति, संघीय लोकतात्रिक, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृतसहित ८ राजनीतिक दलले संयुक्तरुपमा ध्यानाकर्षणपत्र बुझाए थिए । बिपीको भ्रष्टचार र उपमहानगरमा भएको बजार अनियमितता तत्काल रोक्न सुझाव दिएका थिए ।

सोमबार बिपी प्रतिष्ठानमा भएको भ्रष्टचार, अनियमितता स्वास्थ्य उपचारमा लावारवाही सुधार गर्न माग गदैं उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्ष अगाडी प्लेकार्डसहित दलहरुले  धर्ना दिएका थिए । तत्काल सुधार नगरे उपकुलपति गिरीलाई लखेट्नेसमेत दलहरुकानेताले चेतावनी दिएका थिए ।