धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्टमा समस्या भएपछि प्रतिष्ठानले आकस्मिक विरामीलाई भर्ना नलिई फर्काउन थालेको छ ।

प्रतिष्ठानले शुक्रबार उपचारका लागि भर्ना लिन नमानेको एक जना विरामीका आफन्तले जानकारी दिए । अस्पतालमा बेड खाली नभएको बहाना भन्दा पनि अक्सिजन अभाव भएर फर्काएको बताइएको छ ।

आकस्मिक विरामीलाई भर्ना लिन छाडेपनि प्रतिष्ठानले अक्सिजन प्लान्टमा समस्या भएको विषयलाई गोप्य राखेको छ । प्रतिष्ठानका उपकुलपति प्राडा. ज्ञानेन्द्र गिरीले गोप्य राख्न निर्देशन दिएको प्रतिष्ठानका एक चिकित्सकले बताउनु भएको छ ।

अक्सिजन अभावमा प्रतिष्ठानमा एकैदिनमा ७ जनासम्म कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट भएपनि क्षमता अनुसार उत्पादन हुन सकेको छैन ।सिलिण्डर किनेर प्रतिष्ठानले चलाउदैं आए पनि व्याकअफ नहुदा जुनसुकै बेला अक्सिजन अभाव हुने र विरामी समस्यामा पर्ने कोभिडमा कार्यरत एक चिकित्कले जानकारी दिनु भयो ।

तर अहिले सिलिन्डरको अक्सिजन पनि अभाव हुन थालेपछि प्रतिष्ठानमा समस्या उत्पन्न भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरलेले अक्सिजनमा समस्या आएकाले प्लान्ट मर्मतमा जुटेको बताउनु भएको छ । प्रतिमिनेट १६ सय क्षमताको अक्सिजन प्लान्ट प्रतिष्ठानसँग भए पनि आधा मात्र चलाउदूै आएको छ । त्यो पनि मेसिनले रेष्ट नपाएर समस्या आउदा प्रतिष्ठानमा अक्जिसनको हाहाकार भएको हो । विहीबार नै मर्मतका लागि प्राविधीक काठमाडौबाट आएका छन् । तर मर्मत गर्दा दुई तीन घण्टा मेसिन बन्द गर्नु पर्ने हुन्छ । त्यो बेलाका लागि अक्सिजन व्याकअफ नहुदा विरामीलाई असर गर्ने भएकाले अकिसजन सिलिण्डर खोज्ने काम भईरहेको सहप्रवक्ता पोखरेलले बताउनु भएको छ ।
हिजो बेलासम्म बिपी प्रतिष्ठानमा ५४ जना विरामी उपचारमा छन् । अक्सिजन अभावको समाचार बाहिर आए पछि विरामी भर्ना कम भएको प्रतिष्ठानले जनाएको छ । तीन दिन अघि प्रतिष्ठानमा ८० जना कोभिड विरामी भर्ना थिए । ‘भर्ना लिदैं नलिने भन्ने कुरा चाही होइन । यहाँको श्रोत साधनको अवस्था र क्षमताको आधारमा भर्ना लिइरहेका छौं ।’–सहप्रवक्ता पोखरेलले भन्नु भयो ।