धरान /धरास्थित बिपी कोइराला वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको आवासमा अख्तियार अनुसन्धान आयोग इटहरीले छापा मारेको छ ।
मंगलबार आयोगको टोलीले उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको आवास गृहमा छापा मारेर त्यहाँको कागजपत्र नियन्त्रणमा लिएको छ ।
आवासमा उपकुलपति गिरीले प्रतिष्ठानका सम्पति दुरुपयोग गदैं आवश्यकता भन्दा बढि विलासिताका सामान खरिद गरेको विषयमा अख्तियारमा उजुरी परे पछि आयोगले उपकुलपति गिरीलाई लिखित जवाफ मागेको थियो । उपकुलपतिको आवासबाट आयोगको पत्रको कुनै जवाफ नआए पछि मङ्गलबार टोली आफै पुगेर कागजपत्र नियन्त्रणमा लिइएको आयोगका इटहरी प्रमुख प्रकाश पौडेलले जानकारी दिनु भयो । उजुरीका सम्बन्धमा केही प्रमाणहरु लिन बाँकी रहेकाले टोलीलाई पठाइएको उहाँले बताउनु भयो । ‘आवश्यक कागज पत्र र प्रमाणहरु नियन्त्रणमा लिएका छौं ।’–प्रमुख पौडेलले भन्नु भयो । उपकुलपति गिरीले विना टेण्डर सामान खरिद, व्यापारीहरुको साँठगाँठमा आर्थिक अनियमिता गरेको आरोप लाग्दैं आएको छ ।

यता प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले अख्तियारको टोली आएको तर के विषयमा आएको भन्ने आफूलाई सूचना नआएको बताउनु भएको छ ।