धरान / धरान उपमहानगरपालिकाले कृषि क्षेत्र घोषणा गरेको वडा नं ६ पानवारीमा सिचाई योजनाको शिलान्यास गरिएको छ ।

सोमबार प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले कुलो सिचाई योजनाको शिलान्यास गर्नु भएको हो । कुलो सिचाई योजना पुरा भएपछि वडा नं ६ को किसानहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । वडा नं ६ मा मात्र ४ सय बिघाभन्दा बढी जमिनमा खेती हुने गरेको बताइएको छ । पानमारा मञ्सुली चामल पूर्वमा लोकप्रियसमेत रहेको छ ।

शिलान्यस कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले जनताको आवश्यकता वमोजिम विकास निर्माणको काम निरन्तर भइरहेको बताउनु भएको छ ।

सभामुख  भण्डारीले हाम्रो मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने कृषि क्षेत्र अझै पनि परम्परागत तथा निर्वाहमुखी शैलीबाट माथी उठ्न नसकेको कारण अपेक्षा अनुरुप उपलब्धिहरु प्राप्त गर्न नसकेको बताउनु हुदै कोरोना महामारीको संक्रमणबाट संकटमा परेको अर्थतन्त्रलाई उकास्न कृषि क्षेत्रको विकास र रुपान्तरण गर्दै उत्पादनमा वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो ।

मुल कुलो सिचाई योजना प्रदेश १ सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, इनरुवाले निर्माण गर्न लागेको धरान–६ का वडाध्यक्ष भुवनसिंह बस्नेतले जानकारी दिनुभयो ।
डाइनामिक कन्स्ट्रक्सन प्रालि भरतपुर चितवनले भ्याटबाहेक ३ करोड ६१ लाख ९४ हजार ४ सय ३६ रुपैयामा ठेक्का पाएको छ । यसको स्टिमेट भने ५ करोड ६२ लाख ८९ हजार ५२ रुपैया भएको थियो । प्रालिसँग २०७६ माघ २४ गते सम्झौता भएको यो योजना २०७८ बैशाख २९ भित्र काम सम्पन्न गर्नुपर्ने तोकिएको छ ।

कुलो १५ सय मिटरको हुन्छ भने थप ३ वटा शाखा करिब २ किलोमिटरको पनि निर्माण गरिने डिभिजन कार्यालयले जनाएको छ ।

शिलान्यास कार्यक्रममा बिशेष अतिथिको रुपमा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी, ६ नम्बर वडाका अध्यक्ष भुवनसिंह बस्नेत, १५ नम्बर अध्यक्ष नरेश इवारम, नेकपा प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव रमेश बस्नेत, जसपाका केन्द्रीय सदस्य पदम राई, नेकपा जिल्ला सदस्य चोत्लुङ, पदम लिम्वु, नेकपा धरान अध्यक्ष नारायण सुवेदी, नगर सचिवालय सदस्य राजमणी निरौला, पारस काङमाङ, नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ सभापति धनबहादुर कटवाललगायतको उपस्थिति रहेको थियो ।

 

130720227_3723662047694408_8917204273855381771_o (1) 130762065_3723661047694508_5723808999232250098_o