काठमाडौ /  नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्डअनुसार नहुँदा वातावरण र मानवीय जीवनमा असर पर्ने गरेको छ ।

नेपालमा मापदण्ड र नियमविपरित कृषि बालीमा विषादीको प्रयोग हुँदा वातावरणमा पर्ने असर विकशित देशहरुमा भन्दा उच्च रहेको छ । विषादीविज्ञ भक्तराज पालिखेले नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड र नियम विपरित हुने गरेको बताए । उनले विषादीलाई औषधिको रुपमा प्रयोग गरिने सोचलाई परिवर्तन गर्नुपर्ने बताए ।

तथ्याङ्कअनुसार विकशित देशहरुमा प्रतिहेक्टर दुई किलोभन्दा बढी विषादीको प्रयोग हुन्छ । नेपालमा प्रतिहेक्टर तीन सय ९६ ग्राम विषादी खपत हुने गरेको बताइन्छ । जुन अत्यन्तै कम हो । तर कम विषादीको प्रयोग हुँदा पनि मापदण्डअनुसार नहुँदा नेपालको वातावरण र जनसंख्यामा नकारात्मक असर पर्ने गरेको छ । विज्ञ पालिखेले विकशित मुलुकमा विषादीको प्रयोग बढी र वातावरणमा पर्ने असर कम भएको तर नेपालजस्तो मुलुकमा विषादीको प्रयोग कम र वातावरणमा पर्ने असर बढी रहेको बताए । उनले विकशित देशमा विषादीको खपत बढी भए पनि मापदण्ड र नियमअनुसार प्रयोग गर्दा वातावरण र मानव जीवनमा कम असर पर्ने गरेको बताए ।

नेपालमा अहिलेसम्म तीन हजार ३५ वटा व्यापारिक नामका विषादी र एक सय ७० वटा वैज्ञानिक नामका विषादीहरु दर्ता भई प्रयोगमा आएको छ । जसलाई समान्य अवस्थामा लिन नहुने पनि पालिखेले बताए । उनले कृषि बालीमा किरा लागेपछि विषादीको प्रयोग गर्नै पर्छ भन्ने सोचलाई बदल्नुपर्ने र यसको विकल्प खोज्नुपर्नेमा जोड दिए । किसानले विषादी छान्दा पसलेको भरमा छान्ने बानीलाई हटाएर प्राविधिकको सल्लाहअनुसार छान्नुपर्ने बताए । रातो र पहेँलो रंङको विषादीभन्दा हरियो र निलो रंङको विषादीले वातावरणमा कम असर पर्ने भएकाले किसानले विषादीको छनौटमा विशेष ख्याल पु¥याउनुपर्ने उनले बताए ।

खुला सीमाका कारण नेपालमा दर्ता नै नभएका विषादी भित्रिने सम्भावना पनि छ । छिमेकी देशहरुले प्रयोग गरिरहेका कतिपय विषादीहरु नेपालमा प्रतिबन्धित छन् । खुला सीमाका कारण लुकिछिपी आएका त्यस्ता विषादीको प्रयोग हुन सक्ने भएकाले सरकार र किसान दुवै सजग हुनुपर्ने देखिन्छ ।