• अन्सार अन्सारी

इनरुवा / सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा पहिलो पटक नेपाल भारत मैत्री मुशायरा हुने भएको छ । स्थानीय भाषा, साहित्य र साँस्कृतिक प्रवद्र्धनका लागि बहुभाषिक कवि सम्मेलन २०७५ को तयारी भुटाहाले गरेको छ । आइतबार हरिनगर गाउँपालिकाको भुटाहामा आयोजित पत्रकार सम्मेलनमा नेपाल भारत मैत्री मुशायरा आयोजक एलाईन्स नेपालका अध्यक्ष नईम अन्सारीले पहिलो पटक नेपाल भारत मैत्री मुशायराको तयारी भइरहेको जानकारी दिएका छन् । विभिन्न स्थानीय तह(सरकार) र हरिनगर गाउँपालिका भरिका संघसंस्था, सहकारीहरु, निजी स्कुलहरुको आयोजना तथा एलाईन्स नेपालको संयोजनमा मंसिर २ गते मुशायरा हुनेछ । कार्यक्रम बेलुका ४ बजे देखि बिहान ४ बजेसम्म हुने आयोजकले जनाएको छ । स्थानीय भाषा, साहित्य र साँस्कृतिक प्रवद्र्धनका लागि बहुभाषिक कवि सम्मेलन गर्न लागेको एलाईन्स नेपाल संस्थाका महासचिव सुशील ठाकुरले बताए । भुटाहा १ स्थित श्री बाल कृष्ण माविको खेल मैदानमा हुने मुशायरामा करिब ७ लाख ५१ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । भुटाहामा पहिलो पटक हुँन गइरहेको नेपाल भारत मैत्री मुशायरामा सुनसरीको १२ वटा स्थानीय तह तथा भारतको बिहारका मुखियाहरुलाई पनि सहभागी गराउने आयोजकले जनाएको छ । एलाईन्स नेपालका अध्यक्ष अन्सारीले स्थानियहरुलाई अवसर दिनुकासाथै स्थानीय ठाउँको पहिचानका लागि मुशायरा गर्न लागेकोले स्थानीय प्रतिभाको पहिचान हुने बताए । सो कार्यक्रममा दस हजार भन्दा बढीको उपस्थिति रहने अनुमान गरिएको छ ।