इटहरी / प्रदेश १ को प्रदेश सभा इटहरीमा राख्नलाई उद्योग वाणिज्य संघ इटहरीले सुविधा सम्पन्न भवन प्रदेश सभालाइ दिने तयारी गरेको छ । १० कट्ठा क्षेत्रफलमा फैलिएको उद्योग वाणिज्य संघको ५ करोडको भवनसहितका संरचना प्रदेश सभालाई दिन लागेको हो । भारतीय सिमानासँग जोडिएको अस्थायी राजधानी विराटनगर हिमाल र पहाडी जिल्लाका जनतालाई असुविधा हुने भएकाले राजधानी इटहरी बनाउन माग गर्दै संघले भवनका लागि करोडौको जग्गा र भवन दिने तयारी गरेको हो ।
५ लाख प्रतिधुर जग्गाको मापन भएको क्षेत्रको १० कट्ठा जमिन सहित ५ करोडको संरचना प्रदेश सभालाई दिने उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शैलेश विष्टले बताए । चारतले यो भवनमा प्रदेश १ का ५ वटा दलका संसदीय दलका कार्यालय, सभामुख तथा उपसभामुखको सचिवालय, संसद सचिवालय लगायत सबैलाई पुग्ने कोठाहरू रहेको उवासंघ इटहरीका कार्यवाहक अध्यक्ष विष्टले जानकारी दिए ।
इटहरी राजधानीका लागि सबैलाई पायक र सुरक्षित
भारतीय सीमावर्ती सहर विराटनगरमा प्रदेश सभा र सांसदहरूले असुरक्षित भएको सांसदहरुले नै सार्वजनिक गर्दै आएका छन् । झन सुनसरीको भुटाहामा दिनदहाडै नेकपाका जिल्ला नेतामाथि गोली प्रहार भए पछि सिमानासँन्गै जोडिएको विराटनगरमा सांसदहरुले असुरक्षा महसुस गर्न थालेका छन् ।
असोज ४ गते भारतीय भूमिबाट नेपाल आएर खुर्सिद अन्सारी हत्यापछि सांसदहरूले विराटनगर असुरक्षित भएको महसुस गर्न थालेका हुन । ‘मन्त्रिहरुको पो सुरक्षा गार्ड छन् अनि सुरक्षित छन् । हामी सदनबाट निस्कने वितिकै भय र त्रासमा रहनु पर्छ ।’–उदयपुरकी प्रदेश सांसद कला घलेले भनिन,–‘विराटनगर राजाधानी उपयुक्त हुदैन । १४ जिल्लाका जनतालाई सुविधा पुग्ने ठाउँमा हुनु पर्छ ।’
उद्योग वाणिज्य संघले प्रदेश सरकारलाई दिने भवन भने उच्च सुरक्षा घेरामा रहेको छ । नेपाली सेनाको पूर्वी पृतना मुख्यालयको मुखमा रहेको यो भवन सशस्त्र प्रहरी बल मुख्यालय इटहरीबाट ५ किलोमिटर दुरीमा रहेको छ । सेना, सशस्त्र प्रहरीको सुरक्षा घेरामा रहेको इटहरीमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयहरु पनि यही रहेको छ । प्रदेश स्तरका अन्य कार्यलयहरु पनि इटहरी केन्द्रित रहेका छन् ।
निजी क्षेत्रले करोडौँको संरचना निःशुल्क दिने र राजधानी नभए प्रदेश सभा भएपनि विराटनगर बाहिर हुनुपर्ने सांसदहरूको मागले मुख्यमन्त्री प्रदेश सभा इटहरी ल्याउन सकारात्मक देखिएका छन् । ग्रेटर विराटनगरको अवधारण ल्याएर सबै क्षेत्रलाई समेटेर राजधानी बनाउने उनको तयारी रहेको श्रोतले बताएको छ ।
आज नेकपाको संसदीय दलमा राजधानीबारे छलफल हुदै
दुईतिहाई बहमत रहेको नेकपाले राजधानीको विषयमा एक धारणा बनाउन आज संसदीय दलको बैठक बोलाएको छ । समान धारणा बनाएर सदनमा प्रस्ताव लाने तयरी गरिएको छ । अधिकाशं संसदहरु विराटनगर राजधानी बनाउन नहुने धराणा राख्दै आएका छन् ।