धरान / धरान उपमहानगरपालिकाले कर वृद्धि गरेको भन्दै आन्दोनमा रहेको नेपाली कांग्रेस नेतृत्वको संयुक्त संघर्ष समिति र धरान उपमहानगरवीच करको विषयमा अध्ययन गर्न ७ सदस्यीय कार्यदल मंगलबार गठन गरिएको छ ।  १० दिनभित्र प्रतिवेदन बुझाउने गरी ७ सदस्यीय राजस्व सुझाव कार्यदल गठन गर्ने सहमति भएको उपमहानगरका प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद खतिवडाले जानकारी गराएका छन् । नेपाली कांगेसको नेतृत्वमा मंगलबार उपमहानगरको मुलगेटमा तालाबन्दी गर्ने कार्यक्रम तय गरे पछि उपमहानगरले वार्तामा आउन आव्हान गरेको हो । नारावाजी गर्दै तालाबन्दी लागि उपमहानगर पुगेका आन्दोलनकारीहरुलाई वार्ताको पत्र थमाए पछि तालावन्दी कार्यक्रम स्थगित गरेको थियो । 

वार्तामा नेपाली कांग्रेसका नगर सभापति तिलक राई, संघीय लिम्वुवान राष्ट्रिय मञ्चका नगर अध्यक्ष सन्जुहाङ सांवा, नेकपा माओवादी(क्रान्तिकारी)का नेता पारस लिम्वु, राष्ट्रिय प्रजातन्त्र पाटीका नगर अध्यक्ष नविन पराजुली, मंगोल नेशनल अर्गानाइजेशनका नगर अध्यक्ष भिम राई, नेपाली कांग्रेसका जिल्ला सदस्य अनिल श्रेष्ठ, क्षेत्रीय सचिव मुरारी भट्टराई, नगर सचिवद्धय श्याम पोखरेल र युवराज शंकर तथा उपमहानगरपालिका कार्यवाहक प्रमुख मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे, कर अधिकृत खगेन्द्र खतिवडालगायतको उपस्थिति रहेको थियो ।
वार्ता पछि बनेको कार्यदलमा आन्दोलनकारीको तर्फवाट नेपाली कांग्रेसका जिल्ला सदस्य अनिल श्रेष्ठ, नगर सचिव श्याम पोखरेल, संघीय लिम्वुवान राष्ट्रिय मञ्चका नगर अध्यक्ष सन्जुहाङ सांवा र प्रा.डा. अशोक झा तथा उपमहानगरपालिकाको तर्फवाट प्रवक्ता तथा २० नं. वडा अध्यक्ष मणिराम राई, १५ नं. वडा अध्यक्ष नरेश इवारम र १७ नं. वडा अध्यक्ष मनोज भट्टराई रहेका छन् । साथै आवश्यकतानुसार विज्ञलाई समावेश गराई राय लिने समेत सहमति भएको उपमहानगरले जनाएको छ । विज्ञसहितको कार्यदलले सुझाव पेस गर्ने र सोही आधारमा उपमहानगरले निर्णय गर्ने बताइएको छ । कार्यदल गठनसँगै कांग्रेसले आन्दोलनको कार्यक्रम स्थगित गरेको कांग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङले जानकारी दिए ।