धरान  / सेवक अभियानले सुरु गरेको स्वास्थ्यको लगि पदयात्रा ५० औं हप्तामा पुगेको छ । प्रत्येक शनिबार धरान–२ स्थित सिंहदेवी चोकबाट सुरुहुने पदयात्रा धरान उपमहानगरपालिकाको पहाडी क्षेत्रमा रहेका गाउँ निशान डाडा, देवी गाउ, पत्रङबारी, शिवजट्टा लगायतका गाउँमा पुग्ने गरिएको छ । शनिबार ५० औं हप्ता पुगेको अवसरमा १ नं. प्रदेशका सभामुख प्रदीप भण्डारी, सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसदहरु चन्द्रप्रसाद श्रेष्ठ र उमिता विक, धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी लगायत सयौं धरानेहरु पदयात्रामा निस्केका थिए । सधै झै धरानको सिंहदेवी चोकबाट निस्किएको पदयात्रा छाताचोक, भानुचोक, सदन स्कुलहुँदै धरान–५ स्थित झोरापाटा, जलकन्यादेवीको मन्दीर हुदै कुलुङ राईहरुको धार्मिक वन लभ डाडाहुदै देवी गाउबाट पुनः धरान–१५ स्थित बसपार्कमा आइपुगेर समापन भएको थियो ।
प्रदेश सरकारले २०७५ साललाई स्वास्थ्य प्रवद्र्धन वर्षको रुपमा मनाइरहेको भन्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले शरिरमा कुनै प्रकारको रोगलाग्न नदिनको लागी अग्रिम रुपमा सचेत हुनुपर्ने बताए । उनले प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै शारिरीक व्यायम, योगा, पदयात्रा, मर्निङ वाक लगायत विभिन्न खेलकुदमा सरिक भएर आफ्नो शरिरलाई फिट राख्न चेतना फैलाइरहेको बताए । उनले यस अघि योग दिवसमा बराहक्षेत्र स्थित चतरामा पुगेर योगको प्रवद्र्धन गरेको समेत स्मरण गरेका थिए ।
सभामुख प्रदीप कुमार भण्डारीले धराने जनता आफ्नो स्वास्थ्य प्रति अत्यन्तै सचेत रहेको बताएका थिए । उनले आफु पनि नियमित मर्निङ वाकमा निस्कने गरेको स्मरण गर्दै धरानका धेरै नागरिक पदयात्रा, धरान रन, मर्निङ वाक, योगा, जीम जाने लगायत व्याटमिन्टन, फुटबल र फुटसल जस्ता खेल खेलेर पनि आफुलाई फिट राख्दै आएको बताए । उनले स्वास्थ्यको लागी पदयात्रा भनेर सेवक अभियानले सुरु गरेको पदयात्राको निरन्तरताको कामना समेत गरेका थिए ।
सेवक अभियानका प्रमुख अभियन्ता राजिव हलवाईले पछिल्लो समय पदयात्रामा निस्कने सहभागीहरुको संख्या बढ्दै गएको बताउँदै स्वास्थ्य प्रति नागरिकमा चेतना बढेको बताए । उनले अहिले मानिसहरु दुइ पाइला हिड्न नसक्ने र सुविधाभोगी भएको भन्दै पदयात्राले मानिसलाई हिड्ने बानीको समेत विकास गर्ने बताए । उनले आफ्नो शरिरको तौललाई सन्तुलनमा राख्न, शरिरलाई फुर्तिलो राख्नुको साथै सहरी कोलाहलबाट एकछिन भएपनि मुक्त पार्न पदयात्राले सहयोग पु¥याउने बताए ।
सेवक अभियानले सुरु गरेको पदयात्रा ५० औ हप्तामा प्रवेश गरेको अवसरमा पदयात्रामा मितेरी बैंकका सिइओ तुलसीप्रसाद वस्ती, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य बासुदेव गौतम, मेरिल्याण्ड स्कुलका विद्यार्थीहरु लगायतको सहभागीता रहेको थियो ।