धरान  / कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको निष्पक्ष छानविनको क्रममा एसपी डिल्लीराज विष्ट निलम्बलनमा परेका छन् ।

अनुसन्धान प्रक्रिया पूरा गरी घटनाको निष्पक्ष छानबिन नभएसम्म विष्टलाई निलम्बन गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । शनिबार गृहमन्त्रालयले एसपी विष्टलाई निलम्बन गर्न तथा डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेड्क्वार्टर बोलाउन निर्देशन दिएको छ । बलात्कारपछि भएको हत्याको विरोधमा कञ्चनपुरमा आन्दोलन हुँदा जिल्लाको नेतृत्व सम्हालेका विष्टले सुनुवाई नगरेको भन्दै बिहिबार नै उनलाई क१चनपुरबाट फिर्ता बोलाएको थियो । आन्दोलनले चर्कोरुप लिए पछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी विष्ट र डीएसपीलाई फिर्ता बोलाएको थियो ।
निर्मलाको बलात्कार तथा हत्यामा उनका निकट व्यक्तिको संलग्नताको आशंका गरिएको छ। प्रहरीले पन्तको बलात्कार तथा हत्या आरोपमा स्थानीय दिलीपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।
तर, घटनामा उनको संलग्नताको प्रमाण दिन सकेको छैन। गृहले सहसचिवको नेतृत्वमा जिल्लामा छानबिन टोली पठाइसकेको छ। गत साउन १० गते साथी रोशनी बमको घरमा पढ्न जाँदा उनको हत्या भएको थियो। प्रहरीले रोशनीलाई शनिबार मात्र पक्राउ गरेको छ। सुरुदेखि नै प्रहरीले शंकास्पद व्यवहार देखाएको भन्दै स्थानीय प्रहरीप्रति आक्रोशित भइरहेका छन्।