काठमाडौँ /  पुरै देश स्तब्ध बनाएको बलात्कारको घटनाको सत्य तथ्य सार्बजनिक भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कञ्चनपुर भीमदत्त नगरपालिका(२ की निर्मला पन्तको बलात्कार पछि हत्या ४१ वर्षीय दीलिप सिंह विष्टले गरेको निष्कर्ष निकालेको छ ।

गत साउन १० गते घरबाट निस्केर साथीको घर पढ्न गएकी निर्मला साइकलमा फर्किँदा बाटोमा चेन बिग्रेको र चेन बनाइदिने निहुँमा दीलिपले बलात्कार गरेको ब्युरोको निष्कर्ष छ । ब्युरोको अनुसार बलात्कारको प्रतिकारमा निर्मलाले चिच्याउँदा पोल खुल्ने डरले दीलिपले घाटी थिचेर हत्या गरेको अनुसन्धानको क्रममा दीलिपले बताएक थिए। कान्तिपुर दैनिकमा खबर छ । साथीको घरमा पढेर फर्केकी निर्मलाको शव भीमदत्त नगरपालिकाको वडा नम्बर १८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलाको पुर्व उत्तर तर्फको उखुबारीमा फेला परेको थियो।

अनुसन्धानमा खटिएको ब्युरोको एक अधिकारीले निर्मलाको साइकलको चेन बिग्रिरहने समस्या भएको र त्यही चेन बनाइदिने बहानामा यौन विक्षिप्त दीलिपले बलात्कार पछि हत्या गरेको बताए। घटनाको भोलिपल्ट बिहान अन्दाजी बिहान आठ बजे मात्रै स्थानीय कृष्ण केसीले साइकल खोलमा देखेर निर्मलाको आफन्तलाई खबर गरेपछि बलात्कार पछि हत्याको घटना बाहिर आएको थियो। ब्युरोले १० गते अन्दाजी साढे दुईदेखि तीन बजेको बीचमा बलात्कार र हत्याको घटना भएको निष्कर्ष निकालेको छ। घटना सार्वजनिक भएको भोलिपल्टै केन्द्रीय अनुसन्धान ब्युरोबाट डिएसपी अंगुर जोशी, इन्सपेक्टर बिजय सापकोटा र सई धर्मेन्द्र राई नेतृत्वको टोली अनुसन्धानका निम्ति कञ्चनपुर पुगेको थियो।

अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीका अनुसार टोलीले कञ्चनपुरस्थित जिल्ला कारागारबाट बलात्कार र कर्तव्य ज्यान मुद्धामा सजाय भुक्तान गरेर छुटेका पूर्व कैदीहरुको गतिविधि निगरानी गरिरहेको थियो। आइतबार प्रहरीले मृतक निर्मलाको साइकल भेटिएको स्थानको करिब ५० मिटर पश्चिम तर्फको सडक किनारमा सादा पोशाकमा खटिएका प्रहरीले हातमा लठ्ठी लिएर उभिरहेका दीलिपलाई भेटेको थियो। शंकास्पद व्यवहार देखाएका दीलिपलाई सोधपुछ गर्न लाग्दा उनी भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानमा संग्लन प्रहरीका अनुसार कुनै प्रतिशोध वा रिसिइबीले भन्दा पनि यौन भोक शान्त पार्न नै दीलिपले बलात्कार गरेको र पछि हत्या गरेको देखिन्छ। ब्युरोले आइतबार नै दीलिपलाई जबरजस्ती करणी र कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र केन्द्रीय अनुसन्धान ब्युरोको समन्वयमा उनीमाथि थप अनुसन्धान भइरहेको छ।

को हुनु दीलिप

केन्द्रीय अनुसन्धान ब्युरोको अनुसार कर्तब्य ज्यान मुद्धामा ९ वर्ष जेल सजाय भुक्तान गरी निस्केका दीलिप मानसिक रुपमा ठिकै भएपनि सन्की व्यवहारका थिए । २०६५ सालमा पक्राउ परेका बिष्ट दिदी नाता पर्ने एक युवतीलाई बलात्कार गरेको र आफ्नै कान्छो भिनाजु नारायण सिंह थापाको हत्या गरेको अभियोगमा जेल सजाय भोगेका दीलिप २०७४ जेठमा मात्रै कैद सजाय पुरा गरेर छुटेका थिए । ब्युरोले दीलिपको विगत समेत आपराधिक पृष्ठभूमीले भरिएको बताएको छ ।

गाँजा र मादक पर्दाथका अम्मली रहेको दीलिप ९ कक्षामा पढने बेलामा नै एक युवतीसँग एकोहोरो मायामा परेका थिए । मन पराएकी युवतीलाई बारम्बार बाटो छेक्ने र दुस्ख दिने गरेपछि युवतीका आफन्तले उनलाई टाउकोमा चोट पर्नेगरी कुटपीट गरेको र त्यसपछि पढाई छाडेका दीलिप केटी प्रति आशक्त व्यवहार देखाउने र असामान्य व्यवहार देखाउने गरेका थिए । ब्युरोले दीलिप यसअघि पनि विभिन्न बलात्कारको घटनामा संग्लन रहेको व्यक्ति रहेको प्रहरीले जनाएको छ । र परिवारका निम्ति समेत त्रास बन्ने गरेको बताएको छ।