काठमाडौं /  नेकपाको महाधिवेशन आगामी दुई वर्षभित्र सम्पन्न गरिसक्ने समयसिमा तोकेको छ । महाधिवेशनको स्थान, मिति र प्रतिनिधित्व केन्द्रीय कमिटीले तोके बमोजिम हुने भएको छ । नेकपाले आगामी महाधिवेशनलाई ‘एकताको राष्ट्रिय महाधिवेशन’को नाम दिएको छ ।

त्यस्तै, पार्टीको विधान, राजनीतिक प्रतिवेदन र आवश्यक अन्य दस्तावेजहरु पारित गर्ने, केन्द्रीय कमिटी, केन्द्रीय निकाय र तिनका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन पनि महाधिवेशनबाट पारित विधानअनुसार हुने भएको छ ।

नेकपाको संगठनात्कम सिद्धान्त, कार्यक्रम र नीति निर्माण तथा सबै तहका कमिटी र सदस्यको सञ्चालन जनवादी केन्द्रीयताको आधारमा हुने भनिएको छ । महाधिवेशन पार्टीको सर्वोच्च संस्थाको रुपमा किटान गरेको नेकपाले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी तथा केन्द्रीकृत नेतृत्व र विकेन्द्रित एवम् शृंखलाबद्ध कमिटी प्रणाली अवलम्बन गर्ने भएको छ ।

नेकपाले पार्टी सदस्यता शुल्क मासिक २५ रुपैयाँ र संगठित सदस्यताको शुल्क मासिक ५० रुपैयाँ तोकेको छ । लेबी वापत संकलित रकमको ४० प्रतिशत केन्द्रीय कमिटीमा, २५ प्रतिशत सम्बन्धित प्रदेश कमिटीमा, २५ प्रतिशत सम्बन्धित जिल्ला कमिटीमा र १० प्रतिशत सम्बन्धित गाउँ वा नगर कमिटीमा रहनेछ । प्रत्येक कमिटीले आफूभन्दा ठीक एक तह तल्लो कमिटीलाई र आफ्ना कमिटीका सदस्यहरूलाई लेबी तोक्न सक्ने पनि प्रावधान राखेको छ ।

त्यस्तै, पार्टीबाट प्रधानमन्त्री, मन्त्री तथा सांसद बनेका र केन्द्रीय तहको राजनीतिक नियुक्ति प्राप्त व्यक्तिलाई केन्द्रीय कमिटीले, प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा सांसद बनेका र प्रदेश तहको राजनीतिक नियुक्ति प्राप्त व्यक्तिलाई प्रदेश कमिटीले र स्थानीय तहका विभिन्न पदमा कार्यरत जनप्रतिनिधि र राजनीतिक नियुक्ति प्राप्त व्यक्तिलाई सम्बन्धित तहको स्थानीय कमिटीले लेबी तथा शुल्क तोक्न पाउनेछन् । नयाँ पत्रिकाबाट

विधान हेर्नुहाेस् ।