मस्को (एएफपी)/विश्वकपको उपाधी दाबेदार मानिदै आएको ब्राजिलले शुक्रबार भएको खेलमा कडा प्रतिस्पर्धाबीच कोस्टारिकामाथि २–0 गोलको जित हासिल गरेको छ । 
निर्धारित समयसम्म कुनै गोल नभएपछि छ मिनेट थप गरिएकोमा अतिरिक्त समयको पहिलो मिनेटमै ब्राजिलका कौन्टीन्होले पहिलो गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए । 
अतिरिक्त समय सकिनै लाग्दा नेइमारले अर्को गोल गरेर ब्राजिलका समर्थकहरुको चाहना पुरा गराएका थिए । 
नेइमारको गोलको व्यग्रप्रतिक्षामा रहेका उनका समर्थकहरूले उनको गोल हेर्न अन्तिम समयसम्म कुर्नुपरेको थियो । 
पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिललाई शुक्रबारको खेलमा पनि कोस्टारिकाले निकै गाह्रो पारेको थियो । 
अधिकांश समय बल ब्राजिलका खेलाडीहरुले नियन्त्रणमा लिएर गोलपोष्टमा प्रहार गरेपनि कोस्टारिकाका गोलकिपर केलर नभासले गोल हुनबाट जोगाएका थिए । 
थपेको समयमा बल समात्नेक्रममा लडेर कोस्टारिकाका गोलकिपर घाइते भएपछिको समयलाई ब्राजिलले राम्रैसँग उपयोग ग¥यो । 
ब्राजिलसँगको पराजयसँगै यस पटकको विश्वकपमा कोस्टारिका दुवै खेलमा हारेर स्तब्ध हुने देश बनेको छ । पहिलो खेलमा कोस्टारिका सर्बियासँग हारेको थियो । 
ब्राजिलबाट पनि विश्वकप सुरु हुनु अगाडी जुन तरिकाले अपेक्षा गरिएको छ । त्यो अनुसारको खेल प्रदर्शन हुन सकेको छैन । 
पहिलो खेलमा स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएपछि ब्राजिलप्रतिको भरोसामा कमी आएको छ । कोस्टारिकामाथिको जितसँगै खेल सुधार्ने मौका भने ब्राजिलले पाएको छ । 


नाइजेरियाले आइसल्यान्डलाई २-० गोलले पराजित

यता नाइजेरियाले आइसल्यान्डलाई २-० गोलले पराजित गरेको छ। शुक्रबार भएको खेलमा आइल्यान्डलाई पराजित गरेसँगै नाइजेरियाको अन्तिम १६ मा पुग्ने सम्भावना बढेको छ। 

नाइजेरियाको जितमा दुवै गोल अहमेद मुसाले गरे। उनले ४९ र ७५ मिनेटमा गोल गरे। 

समूह 'डी'को शीर्ष स्थानको क्रोएसियाको ६ अंक छ। दोस्रो स्थानको नाइजेरियाको ३ अंक छ। आइसल्यान्ड र अर्जेन्टिनाको १-१ छ। क्रोएसिया अन्तिम १६ पुगिसकेको छ। अब अर्जेन्टिना, आइसल्यान्ड र नाइजेरिया मध्ये १ टिम अन्तिम १६ मा पुग्नेछ।

स्विट्जरल्यान्डले सर्वियामाथि २-१ को रोमाञ्चक जित हात

प्रतियोगितामा स्विट्जरल्यान्डले सर्वियामाथि २-१ को रोमाञ्चक जित हात पारेको छ।

समूह 'ई' को खेलमा स्विट्जरल्यान्डलाई जित दिलाउन साकिरीले निर्णायक गोल गरेका थिए। उनले खेलको अन्तिम मिनेटमा गोल गरेपछि स्विट्जरल्यान्डले महत्वपूर्ण ३ अंक बटुलेको हो। 

त्यसअघि मिट्रोभिकले पाँचौ मिनेटमा गोल गरेर सर्वियालाई अग्रता दिलाएका थिए। तर ५२ मिनेटमा स्विट्जरल्यान्डका लागि ग्रानिट जाकाले बराबरी गोल फर्काए। 

योसँगै समूह 'ई' बाट ३ टिमको अन्तिम १६ मा पुग्ने सम्भावना भएको छ। शीर्ष स्थानको ब्राजिल र दोस्रो स्थानको स्विट्जरल्यान्डको समान ४-४ अंक छ। तेस्रो स्थानको सर्वियाको ३ अंक छ।