विराटनगर /प्रदेश नं १ को सरकारद्वारा आज प्रदेशसभामा प्रस्तुत आव २०७५/७६ को नीति तथा कार्यक्रम प्रतिपक्षले महत्वाकांक्षी भनेका छन् भने सत्तापक्षले राम्रो र सन्तुलित रहेको टिप्पणी गरेका छन् । 

नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका सचेतक केदार कार्कीले सपना बाँड्ने, जनतालाई झुक्याउने कार्यक्रम रहेको, जनताले चाहेको अनुरुपको नरहेको उल्लेख गर्दै प्रदेशको बजेट रु १९ अर्ब रहपनि रु १३ अर्ब सशर्त रहेको बताए । नीति तथा कार्यक्रमले लिएका लक्ष्य पूरा गर्न आजीवन लाग्ने भन्दै उनले एक वर्ष वा दुई वर्षमा पूरा गरिने कार्यक्रम नीति कार्यक्रममा नराखिएको बताए । 
सत्तापक्षका प्रदेशसभा सदस्य विनादेवी राईले समग्रमा नीति तथा कार्यक्रम राम्रो र सन्तुलित रहेको बताए । 
सङ्घीय समाजवादी फोरमका जयराम यादवले अति महत्वकांक्षी कार्यक्रम रहेको, प्रत्येक जिल्लामा एउटा नमूना कार्यक्रम नभएको, झापामा बढी कार्यक्रम दिएको भन्दै मधेश र जनजाति आन्दोलनका शहीद परिवारका लागि सेवा सुविधा बजेटमा नआएको टिप्पणी गरे । 
नेपाल उद्योग वाणिज्य महासंघ १ नं प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतले नीति कार्यक्रममा सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएको बताउनुभयो । उहाँले नीति कार्यक्रमले कृषि, जलस्रोत, उद्योग तथा प्रशोधन केन्द्रमा अनुदानलगायतको व्यवस्था समेटेको बताए ।