सुनसरी / तरुण दल सुनसरीका सभापति तथा नेपाली काङ्ग्रेस महासमिति सदस्य सिजन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई गुण्डागर्दी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले शुक्रबार राती नियन्त्रणमा लिइएको छ । लामो समयदेखिको जग्गा विवादमा अमिन ल्याएर जग्गा नाप्दै गर्दा जग्गावालालाई धम्की तथा कुटपीट गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । 
तराहराकी तीर्थकुमारी गिरीको जग्गामा विवाद रहेको थियो । उक्त जग्गा नामजाँच गर्दा गुरुङले आफनो भन्दै गुण्डागर्दी शैलीमा आक्रमण गरेको उजुरी परेको छ । उजुरी गर्ने व्यक्तिबारे प्रहरीले गोप्य राखेको छ । इटहरी २० तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गामा सिमा र भाडाको विषयमा विवाद भएको बताइएको छ ।
पिडित पक्षले अमिनि लगेर जग्गा नाप गरेको ठाउँमा गएर पिडित पक्ष सँग कुटपिट गरेको आरोपमा गुरुङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले पक्राउको पुष्टि गरेका छन् । ‘लामो समय देखि जग्गाको विवाद रहेछ अमिनि लगेर जग्गा नाप्ने क्रममा गुण्डागर्दी शैली अपनाएर कुटपिट गरिएको पाईयो ।’– डिएसपी श्रेष्ठले भने –‘गुण्डागर्दीशैली देखिएका कारण हामीले नियन्त्रणमा लिएको छौ ।’
डिएसपी श्रेष्ठले गुरुङका विषयमा अनुसन्धान सुरु गरिएको बताएका छन् । उनलाई केही सार्वजनिक अपराध ऐन२०२९ अन्तर्गत कारवाही हुने डिएसपी श्रेष्ठले बताए ।
विवादित छविका गुरुङ यसअघि इटहरीको एक बलात्कार काण्डमा विचौलियको रुपमा मिला पत्र गराएको घट्नामा समेत मुछिएका थिए । तत्कालिन एसपी विद्यानन्द माझि र इटहरीकै इन्स्पेक्टर चिरञ्जीवी दाहालसँगको मिलेमतोमा गुरुङलगायतले पीडितलाई जबरजस्ती मिलापत्र गराइएको थियो । सो विषय उल्टिएर उनले मुद्धासमेत खेपेका थिए ।  गत २०७१ सालमा ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा भेडेटारबाट उनलाई पक्राउ गरिएको थियो । दवावमा उनलाई विना कारवाही छाडिएको थियो ।
यता गुरुङको पक्राउको बचाउ गर्दै नेपाली काङ्ग्रेस जिल्ला समिति सुनसरीले शनिवार विज्ञप्ति जारी गरि विना सर्त रिहाई गर्न माग गरेको छ । जिल्ला सभापति तथा प्रदेश नं. १ का प्रदेशसभा सदस्य एंव प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका राजिव कोईरालाले विज्ञप्ति जारी गरि गुरुङलाई राजनितिक पूर्वाग्रहको आधारमा पक्राउ गरेको भन्दै उनलाई ततकाल रिहा गर्न माग गरेका छन् । प्रहरीले उनलाई विनाकारण फसाईएको विज्ञप्तिमा भनिउको छ । विवाद पछि शुक्रबार दिउसो गुरुङ आफै असुरक्षित भएको भन्दै जिल्ला प्रशासन पुगेको बताइएको छ ।