धरान / नेपाल सरकारले सिण्डिकेट हटाउने निर्देशिका जारी गरे पछि शुक्रबारदेखि आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार साँझसम्म धरानबाट ९ र इटहरबिाट एक जना यातायात व्यवसायीहरु पक्राउ परेका छन् ।
धरानबाट यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी, सप्तकोशी बस व्यवसायी संघका सचिव हरी थापा, सह–सचिव गणेश विष्ट र कोषाध्यक्ष सुमन थापा, पूर्वाञ्चल यातायात बस व्यवसायी संघका उपाध्यक्ष मोहनमणी बराल, कोशी बस व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव नेत्रबादुर थापा र संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमोलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएपी रामेश्वर पौडेलले जानकारी दिए । नेताहरु पक्राउ परे पछि इलाका प्रहरी कार्यालय अगाडी नारावाजी गर्ने सत्यसाई बस प्रालिका अध्यष श्याम कट्टेल र सयुक्त यातायात व्यवसायी संघका उपाध्यक्ष पदमसुन्दर लिम्बुलाई पनि पक्राउ गरेकोे छ । इटहरीबाट यातायात व्यवसायी संघका अध्यक्ष धुव्र घिमिरे पक्राउ परेको छ ।

पक्राउ परेकालाई आवश्यक सेवा संचालन ऐन २०१४ अन्तर्गत ६ महिनासम्म कैद हुने
पक्राउ परेकाहरुलाई आवश्यक सेवा संचालन ऐन २०१४ अन्तर्गत कारवाही हुन सक्ने प्रहरीले जनाएको छ ।

ऐनमा के छ
ऐन अनुसार यातायात सेवा आवश्यक सेवा भित्र पर्छ । यस्ता सेवामा हडताल गर्न निषेध छ । आवश्यक सेवा संचालन ऐन, २०१४ को दफा ४ अनुसार निषेध गरिएको हड्ताल गर्ने वा त्यसमा भाग लिनेलाई छ महिनासम्म कैद वा दुई सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ । त्यस्तै सोही ऐनको दफा ५ अनुसार यस्तो काम गर्न दुरुत्साहन गर्नेलाई एक वर्ष सम्म कैद वा एक हजार रुपैयाँ सम्म जरिवाना वा दुवै हुने ब्यवस्था छ । निषेध गरिएको कुनै हड्तालको निमित्त कुनै व्यक्तिले जानीजानी कुनै नगदी सहायता दिएमा निजलाई एक वर्षसम्म कैदै वा रु. एक हजार सम्म जरिवाना वा दुबै सजाय हुने ऐनमा व्यवस्था छ ।