विराटनगर /  प्रदेश नं १ प्रदेशसभा बैठकले आज ‘आकस्मिक कोष सञ्चालन विधेयक–२०७५’ सर्वसम्मत रुपमा पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पारित गर्न बैठकसमक्ष पेश गरेपछि सर्वसम्मत रुपमा पारित भएको हो । वैशाख १३ गते प्रदेशसभाको बैठकमा मन्त्री आङ्बोले उक्त विधेयक टेबुल गरेका थिए । 

उक्त विधेयक पारित भएपछि प्राकृतिक तथा अप्राकृतिक विपत्तिको समयमा आकस्मिक कोष परिचालन हुनेछ ।  यसअघि उक्त प्रस्तावमाथि प्रदेशसभा सदस्यबाट उक्त विधेयकमा देखिएका व्याकरण सच्याउनुपर्ने तथा विधेयकको सैद्धान्तिक र व्यावहारिक पक्षको सम्बन्धमा दिइएका सुझावलाई मन्त्री आङ्बोद्वारा स्वीकार गरेपछि संशोधनका लागि दर्ता गरिएका प्रस्तावहरु फिर्ता भएका भएका थिए ।