धरान/  सुनसरी जिल्लावाट निर्वाचित नेपाली कांग्रेस पाटीका प्रदेश तथा प्रतिनिधि सभाका सांसदहरु सम्मानित भएका छन् । नेपाली कांग्रेस सुनसरीको १ नं. क्षेत्रीय समितिले सम्मान तथा नववर्ष २०७५ को शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरी लोकतन्त्र स्थापनार्थ विशेष योगदान गरेको भन्दै प्रतिनिधि सभाका सांसदहरु विजयकुमार गच्छेदार, ज्ञानेन्द्रबहादुर कार्की, मिनबहादुर विश्वकर्मा, सिताराम मेहता तथा प्रदेश सभाका सांसदहरु राजिव कोइराला, चन्द्र प्रसाद श्रेष्ठ, अगमलाल चौधरी, मो. ताहिर अन्सारी, ज्योती सुब्बा र निवेदिता चौधरीलाई दोसल्ला र सम्मान–पत्रले सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका कांग्रेस नेता गच्छेदारले अब कांग्रेसले जनताकोवीचमा गएर जनभावना बमोजिमको कार्यगर्नुपर्ने र सबै लोकतान्त्रिक शक्तिहरु वीच एकता हुनुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा केन्द्रिय सदस्य तथा सांसद मिन विश्वकर्मा, जिल्ला सभापति एवम् प्रदेश नं. १ का संसदीय दलका नेता राजिव कोइराला, सांसदहरु सिताराम मेहता, मिना सुब्बा, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, निवेदिता चौधरी, जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, नगर सभापति तिलक राई, क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाई लगायतले मन्तव्य राखेका थिए । कार्यवाहक सभापति धनवहादुर कटवालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन क्षेत्रीय सचिव मुरारी भट्टराईले गरेका थिए भने क्षेत्रीय सचिव महेन्द्र प्रधान, आदिवासी जनजाति संघका क्षेत्रीय सभापति तारा लामा, नेपाल महिला संघकी जिल्ला सदस्य कोपिला भट्टराई तथा महिला संघ धरानकी कार्यवाहक अध्यक्ष अन्जना राईले सम्मान–पत्र वाचन गरेका थिए ।