संविधान कार्यान्वयनमा गति राजनीतिक स्थिरता सुनिश्चित
वाम सरकारलाई दुईतिहाइ मत छ । स्थिर सरकारलाई विकास, र सुशासनमा सकारात्मक परिणाम ल्याउन तुलनात्मक रूपमा सजिलो हुन्छ । सरकारको आयु छोटो भएकै कारण बहुसंख्यक कर्मचारीले असहयोग गरेको पूर्वस्वास्थ्यमन्त्री गगन थापाको अनुभव छ । ‘एउटा दस्तखत गर्न पनि विदेश भ्रमणको आस राख्ने कर्मचारी पनि भोगियो,’ थापा भन्छन्, ‘मन्त्री पाँच वर्षका लागि भन्ने मात्र परेको भए त्यो हदको छाडा हुन सक्दैन थिए ।’

मन्त्रिपरिषद्को अनुहार तुलनात्मक रूपमा आशालाग्दो
प्रधानमन्त्री केपी ओलीले छानेका अनुहारले पनि आशा जगाएको छ । अर्थशास्त्री डा. युवराज खतिवडा पार्टीबाहिर पनि आसलाग्दो अनुहारको छवि बनाएका गोकर्ण विष्ट, रवीन्द्र अधिकारी, लालबाबु पण्डित मन्त्री छन् । माओवादी कोटामा मन्त्री बनेका रामबहादुर थापा, मातृका यादव पनि आर्थिक मामिलामा विवादित छैनन् । वर्षमान पुन पनि ऊर्जाशील छन् । उनीहरू सर्वसाधारणलाई निराश हुन नदिन केही गर्न दबाबमा छन् ।

आन्दोलनरत असन्तुष्ट समूह पनि मूलधारमा प्रवेश
०६२/६३ को परिवर्तनदेखि आन्दोलनमा रहेका असन्तुष्ट समूह राजनीतिक प्रणालीमा मूल प्रवाहमा छिरेका छन् । प्रदेश २ को सरकार हाँकिरहेका मधेसी दल संघीय सरकारमा पनि जान तयार छन् । सरकार पनि फोरमलाई सरकारमा जोड्न इच्छुक देखिन्छ । संविधान संशोधनको प्रतिकारमा उत्रिएको एमाले नै संशोधनमार्फत मधेसी पार्टीको मुद्दालाई किनारा लगाउन उदार देखिएकाले मधेसको असन्तुष्टि सम्बोधन हुने देखिन्छ ।

प्रधानमन्त्रीको बुलन्द हौसला

प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा केही गरेर छाड्नेमा प्रतिबद्ध देखिन्छन् । आफ्नो अहिलेको जिन्दगीलाई नाफाको आयु भन्ने गरेका ओलीले व्यक्तिगत लोभलालचबाट मुक्त भइसकेको घोषणा गरेका छन् । प्रधानमन्त्रीय पद्धतिअनुसार अधिकारको प्रयोग गर्न थालेका छन् । पछिल्लोपटक सचिवको सरुवा प्रधानमन्त्रीले चाहेअनुसार भयो, यसअघि मन्त्रीले आफूअनुकूलका सचिव छान्ने, मिलेमतोमा अनियमितता गर्ने प्रवृत्ति थियो । सचिवमार्फत मन्त्रीको कार्यसम्पादन ‘चेक’ गर्ने शैली नरेन्द्र मोदीले पनि अपनाएका छन् । ओलीले पनि त्यही शैली पछ्याएका छन् । साँच्चिकै लोभलालच त्याग्न सके सकारात्मक परिणाम ०७५ मा देखिनेछ । अघिल्लोपटक प्रधानमन्त्री हुँदा ठूला पूर्वाधारको सपना बाँडेका ओलीको अभियान जारी छ । सपना देख्नु खराब होइन।

ओलीको विगत आसलाग्दो छैन तर, अहिले रहस्यमयी लाग्छन्

लामो समयदेखि अस्थिरता र संक्रमण भोगेको देशमा यतिवेला स्थिरताको आस देखिएको छ । सरकारसँग जनअपेक्षा चुलिनुको मुख्य स्रोत स्थिरताको आस हो । वाम मतदाता बहुसंख्यक भएको देश भएकाले वाम गठबन्धनको सरकार बन्दा थप उत्साह देखिएको छ, एउटा माहोल देखिएको छ । मिडिया आदिमा वामपन्थीको बलियो नेटवर्क छ, यसैले माहोल बनाउन नियोजित प्रयत्न पनि भएको हुन सक्छ । म आफैँ पनि सरकारको अहिलेसम्मको कार्यसम्पादनलाई वाहियात भन्न सक्तिनँ ।

केपी ओलीको विगत हेर्दा आशावादी हुन सक्तिनँ । परीक्षण भइसकेका नेता हुन्, उनको विगतबाट आस जगाउन सकिन्न । तर, अहिलेका ओलीलाई हेर्दा रहस्यमयी लाग्छन् । उनी विगतभन्दा उल्टो, स्वार्थभन्दा माथि उठ्न खोजेका देखिन्छन् । उमेर, स्वास्थ्य आदिको कारणले मरिलानु के छ र, केही कीर्ति छाडेर जानुपर्छ भन्ने चेत आएको उनको अभिव्यक्तिबाट अनुमान गर्न सकिन्छ । मृत्युचेतना सबैभन्दा ठूलो चेतना हो, यो चेतले मान्छेलाई निष्क्रिय इमानदार बनाउँछ । यसैले उनी बृहत्तर हितमा अघि जान खोजेको हो कि भन्ने देखिन्छ । उनको नयाँ व्यक्तित्व विनिर्माण भएको छ । परीक्षण भइसकेका नेता भएकाले उनको क्षमताको भर गर्दिनँ । तर, निष्क्रिय इमानदारिता मात्र देखाए पनि धेरै सकारात्मक परिवर्तन हुन सक्छ । सबैभन्दा असन्तुष्ट मधेस, प्रणालीमा आउनु अर्को आसलाग्दो कुरा हो । विप्लव र सिके राउतले हल्लाउन खोजेर केही हल्लिनेवाला छैन । नयाँ पत्रिका दैनिक