हङकङ । नमो बुद्ध धर्म सेन्टर गुम्बा एचके नेपाल र नेपाली महावाणिज्य दूतावास, हङकङको संयुक्त आयोजनामा २५७०औँ बुद्ध जयन्तीको अवसरमा हङकङमा धार्मिक कार्यक्रम सम्पन्न गरिएको छ।
वैशाख २४ गतेदेखि सुरु भएको कार्यक्रम विभिन्न पूजा, पाठ र धार्मिक विधिसहित एक सातासम्म सञ्चालन गरिएको थियो। आयोजकका अनुसार कार्यक्रमअन्तर्गत दैनिक बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म पूजा तथा पाठ सञ्चालन गरिएको थियो भने केही दिन साँझ विशेष पूजा र दीप प्रज्वलनसमेत गरिएको थियो।
कार्यक्रमको सुरुआतमा दीप प्रज्वलन, पाठ पूजा तथा गुरु पूजन गरिएको थियो। कार्यक्रममाे अध्यक्षता पदमकुमारी गुरुङले गर्नु भएकाे थियाे । यसैगरी, विभिन्न दिनमा शान्ति पूजा, तार र महाकाल पूजा, जीवन रक्षा पूजा तथा ग्रह दोष निवारण पूजा सम्पन्न गरिएको आयोजकले जनाएको छ।
बुद्ध पूर्णिमाका दिन विशेष रूपमा पूजा, पाठ र प्रवचन कार्यक्रम आयोजना गरिएको थियो। सहभागीहरूले भगवान बुद्धका शिक्षाअनुसार शान्ति, करुणा र सहिष्णुताको सन्देश समाजमा फैलाउनुपर्नेमा जोड दिएका थिए।
आयोजकका अनुसार यस्ता कार्यक्रमले विदेशमा रहेका नेपाली समुदायबीच धार्मिक, सांस्कृतिक एकता सुदृढ गर्नुका साथै बौद्ध दर्शनको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कार्यक्रममा नेपाली समुदायिका विभिन्न संघ संख्याहरुको प्रतिनिधी सहभागी थिए ।




















