विश्वकै व्यस्त, आधुनिक र बहुसांस्कृतिक सहरमध्ये एक हङकङ जहाँ अवसर छ, प्रतिस्पर्धा छ र आफ्नो पहिचान बनाउन सहज छैन । तर यही सहरको याउ चिम मोङ डिस्ट्रिक्टमा एक नेपाली महिलाले आफ्नो मेहनत, क्षमता र सामाजिक समर्पणमार्फत् इतिहास रच्नुभएको छ । उहाँ हुनुहुन्छ पोखराकी अरुणा गुरुङ ।
मलेसियामा जन्मिनुभएकी अरुणा गुरुङका पिता दीपक गुरुङ ब्रिटिस सेनामा कार्यरत हुनुहुन्थ्यो । बाल्यकालमै उहाँ हङकङ आउनुभयो । तर शिक्षा भने नेपालमै रोज्नुभयो । पोखराको गोर्खा स्कुलदेखि पृथ्वीनारायण क्याम्पस र काडमाडौको पद्मकन्या क्याम्पससम्मको शैक्षिक यात्रा पूरा गर्दै उहाँले स्नातक तह उत्तीर्ण गर्नुभयो ।
विदेशमा जन्मिनुभए पनि नेपाली माटोसँगको सम्बन्ध टुट्न नदिने उहाँको निर्णयले व्यक्तित्वमा गहिरो नेपालीपन बस्यो । सन् १९९० मा हङकङ फर्किनुभएपछि उहाँले ड्राइगन एयरलाइन्स (हालको क्याथे प्यासिफिक) मा एयरहोस्टेसको रूपमा करियर सुरु गर्नुभयो ।
अंग्रेजीमा राम्रो दखल भएकी उहाँले छोटो समयमै क्यान्टोनीज र म्यान्डारिन भाषामा पनि दक्षता हासिल गर्नुभयो । यी दुवै भाषा हङकङमा बोलिने प्रमुख स्थानीय भाषा हुन् । १० वर्षको सेवापछि उहाँ व्यवस्थापकीय तहमा पुग्नुभयो । पछि ड्राइगन एयरवेज क्याथे प्यासिफिकमा मर्ज भएपछि पनि उहाँले निरन्तर सेवा गर्नुभयो । अन्ततः सन् २०२० मा अवकाश लिनुभयो ।

एयरवेजमा काम गर्दा महिनामा दुई पटक नेपाल आउने र बाँकी समय हङकङमै बस्दै उहाँले स्थानीय भाषामा उल्लेखनीय प्रगति गर्नुभयो । उहाँ आज पनि भन्ने गर्नुहुन्छ, “भाषा लजाएर होइन, अभ्यास गरेर सिकिन्छ ।” पेशासँगै उहाँले सामाजिक कार्यलाई कहिल्यै छुटाउनुभएन । स्काउट, भाषा शिक्षण तथा सोसियल वेल्फेयर डिपार्टमेन्टमार्फत् उहाँ समाजसेवामा सक्रिय रहनुभयो । चिनियाँ समुदायलाई अंग्रेजी भाषा सिकाउँदै र स्थानीयसँग घुलमिल हुँदै उहाँ समुदायमा विश्वासिलो नाम बन्न सफल हुनुभयो ।
यही सामाजिक सक्रियताले उहाँलाई नेतृत्वतर्फ डोर्यायो । हङकङमा रहेका नेपालीसहित अन्य दक्षिण एसियाली समुदायका समस्यालाई सरकारसम्म पुर्याउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
हङकङमा आगलागी ठूलो चुनौती मानिन्छ । बाक्लो बस्ती र अग्ला भवनका कारण आगलागीको जोखिम सधैँ उच्च रहन्छ । सन् २०२० मा याउ मा तेइ क्षेत्रमा भएको भीषण आगलागीमा सात नेपालीको ज्यान गएको थियो । त्यो संकटको घडीमा अरुणा गुरुङ अग्रपंक्तिमा खटिनुभयो । उद्धार, समन्वय र पीडित सहयोगमा उहाँले सक्रिय भूमिका निभाउनुभयो । उहाँको यही योगदानले हङकङ सरकारको ध्यान खिच्यो । त्यसपछि उहाँलाई फायर सेफ्टी कमिटीमा नियुक्त गरियो । यो हङकङ सरकारको प्रभावशाली सल्लाहकार संयन्त्रमध्ये एक मानिन्छ ।

सामाजिक योगदान र नेतृत्व क्षमताको मूल्यांकन गर्दै सन् २०२४ मा उहाँलाई याउ चिम मोङ डिस्ट्रिक्ट काउन्सिलर नियुक्त गरियो । यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र होइन, हङकङमा बसोबास गर्ने करिब ३० हजार नेपाली समुदायको प्रतिनिधित्व गर्ने ऐतिहासिक क्षण पनि बन्यो ।
काउन्सिलरको भूमिकाः नागरिकको पहिलो सहारा
७५ लाखभन्दा बढी जनसंख्या रहेको हङकङका १८ जिल्लामा काउन्सिलरहरू नागरिक र सरकारबीचको पुलका रूपमा काम गर्छन् । नागरिकका मुख्य अपेक्षा सामाजिक सुरक्षा सुविधा कसरी लिने, स्वास्थ्य सेवा कहाँ पाइन्छ, वृद्धभत्ता, ट्राभल कार्डजस्ता सेवामा पहुँच कसरी पुर्याउने, स्थानीय समस्या—सडक, सुरक्षा, चोरीलगायत विषयमा तत्काल समाधान कसरी गर्ने भन्ने हुन्छ । यस्ता विषयमा जनप्रतिनिधिहरूले प्रत्यक्ष समन्वय गर्ने गर्छन् । हङकङको प्रशासनिक प्रणाली यस्तो छ कि काउन्सिलरले रिपोर्ट गरेपछि २४ घण्टाभित्र धेरै समस्या समाधान हुने व्यवस्था छ । यसलाई सुशासनको प्रभावकारी नमुनाका रूपमा लिइन्छ ।

पोखराका राजनीतिमा सक्रिय कुलप्रसाद गुरुङसँग सन् १९९७ मा विवाह गर्नुभएकी अरुणाको जीवनमा रोचक मोड पनि आयो । कुलप्रसाद गुरुङ पोखरा महानगरपालिकाको उपमेयर पदमा चुनाव लड्नुभएको थियो । उहाँहरूबीच सहमति थियो—यदि चुनाव जिते नेपालमै बस्ने, हारे हङकङ फर्किने । अन्ततः उहाँ चुनावमा पराजित हुनुभयो । त्यसपछि हङकङ नै उहाँहरूको स्थायी बसोबास बन्यो । त्यहीँबाट अरुणा गुरुङले आफ्नो सामाजिक प्रभाव अझ फराकिलो बनाउनुभयो ।
अर्काको देशमा गएर रोजगारी गर्दै त्यहीँको सरकारी संरचनामा विश्वास जित्नु सामान्य कुरा होइन । अरुणा गुरुङले हङकङ सरकार तथा समुदायमा पुर्याउनुभएको योगदानको कदर गर्दै सन् २०१२ मा ‘चिफ एक्जुकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ पुरस्कार प्रदान गरिएको थियो । यो सम्मान हङकङबाहिरका व्यक्तिले विरलै प्राप्त गर्ने मानिन्छ ।

त्यसैगरी सन् २०२३ मा उहाँले ‘इथनिक अचिभमेन्ट अवार्ड’ पनि प्राप्त गर्नुभयो । विभिन्न समयमा उहाँले समाजसेवामा पुर्याउनुभएको योगदानका लागि सरकार र समुदायस्तरमा सम्मान पाउँदै आउनुभएको छ । आज हङकङमा बस्ने दक्षिण एसियाली समुदायका लागि अरुणा गुरुङ संकट र सुख–दुःखकी भरोसायोग्य साथी बन्नुभएको छ ।
विदेशमा बसेर पनि उहाँ नेपालको विकासप्रति उत्तिकै चिन्तित हुनुहुन्छ । करको सही उपयोग, पर्याप्त पार्क र सार्वजनिक स्थल निर्माण तथा युवापलायन रोक्ने नीति सरकारले ल्याउनुपर्ने उहाँको धारणा छ ।

अरुणा गुरुङको कथा केवल व्यक्तिगत सफलताको कथा होइन । यो अवसर, संघर्ष र पहिचानको कथा हो । हङकङजस्तो प्रतिस्पर्धी सहरमा एक नेपाली महिलाले नेतृत्वको स्थान हासिल गर्नुले देखाउँछकी, यदि क्षमता, मेहनत र समुदायप्रतिको प्रतिबद्धता छ भने सिमानाले मानिसलाई रोक्न सक्दैन । आज उहाँ केवल याउ चिम मोङ डिस्ट्रिक्टकी काउन्सिलर मात्र होइनन्, विश्वभर रहेका नेपालीका लागि प्रेरणाकी प्रतीक बन्नुभएको छ ।




















