धरान / र्याडिकल लाइट नेपाल प्रा.लि. ले नेतृत्व विकासका लागि ‘एसईई स्पिकर’ कार्यक्रम आयोजना गर्ने भएको छ। प्रतियोगितामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरू सहभागी हुने जनाइएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष तीर्थ कार्की ले यसअघि प्रदेशस्तरीय रूपमा आयोजना हुँदै आएको प्रतियोगिता यस वर्षदेखि धरान नगरस्तरीय बनाइएको जानकारी दिनु भयाे । उहाँले सुनसरी बाहिरका प्रतियोगीहरूको सहभागिता सुनिश्चित गर्न कठिन भएकोले स्वरूप परिवर्तन गरिएको समेत बताउनु भयाे ।
२०७८ सालदेखि सञ्चालनमा आएको यस कार्यक्रममार्फत विद्यार्थीहरूमा वक्तृत्व कला तथा नेतृत्व क्षमता विकास गर्ने लक्ष्य राखिएको छ। यस वर्ष प्रतियोगिताको मूल्याङ्कन प्रणालीमा समेत परिमार्जन गरिएको छ। १०० पूर्णाङ्कमध्ये ७५ अङ्क मुख्य प्रस्तुतीकरणबाट र २५ अङ्क ‘नमूना संसद’ अभ्यासबाट दिइनेछ।
अध्यक्ष कार्कीका अनुसार सामाजिक शिक्षाअन्तर्गत कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा कानुन निर्माण प्रक्रियाबारे व्यवहारिक ज्ञान दिलाउन ‘नमूना संसद’ समावेश गरिएको हो।
प्रतियोगिताको छनोट चरण आगामी वैशाख १८ गते हुने जनाइएको छ। प्रतियोगितामा विजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, फस्ट रनरअपले ७ हजार, सेकेन्ड रनरअपले ३ हजार र थर्ड रनरअपले १५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ।



















