धरान / धरान–१३ स्थित जिरो पोइन्ट मा शनिबार बिहान इभी गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार उदयपुरको सप्तरीबाट तेह्रथुमको तिनजुरेतर्फ जाँदै गरेको बागमती प्रदेश–०८–००१ ज ०३१० नम्बरको इभी गाडी बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको हो। चार्जिङमा राखिएको अवस्थामा चालक नभएको बेला गाडी एक्कासी आफैँ कुदेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। अनियन्त्रित भएर गाडी पल्टिँदा यात्रुहरू घाइते भएका हुन्।
दुर्घटनामा सप्तकोशी नगरपालिका–४ फत्तेपुरकी ३० वर्षीया इन्दिरा श्रेष्ठ, ३३ वर्षीया अनु श्रेष्ठ, ३२ वर्षीया बबिता श्रेष्ठ, १५ वर्षीया आईस्न्या आचार्य, ३१ वर्षीया सुजता बटुवाल, ४० वर्षीया अञ्जु आचार्य, इटहरी उपमहानगरपालिका–१६ की ३१ वर्षीया सुलोचना भट्टराई, सप्तकोशी नगरपालिका–४ सप्तरीकी २० वर्षीया मनिषा विष्ट, ३२ वर्षीया सविता विष्ट, ५३ वर्षीया कमला पराजुली तथा चालक त्रियुगा नगरपालिका–४ बस्ने २२ वर्षीय सागर परियार घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
घाइते सबैको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाकाे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।



















