खोटाङ /  नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले दिक्तेल रुपाकोट मझुवागढी–१३ नुनथलास्थित महुरेगढीमा रहेको एनसेल टावरमा आगजनी गरेका छन् । गएराति करीब १० बजेको समयमा एनसेल टावरको घेराबार तोडेर विप्लव समूहले आगजनी गरेका हुन् । 
 एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । 
 “घटनास्थलको अवस्था हेर्दा योजनाबद्ध तरिकाले आगजनी गरेको देखिन्छ,” उनले भने , “टावर आगजनी गर्ने समूहको खोजी भइरहेको छ ।” राज्यलाई कर नतिर्ने एनसेल कम्पनीलाई कारवाही गर्ने पार्टीको कार्यक्रमअन्तर्गत नुनथलामा सञ्चालित एनसेल टावरमा आगजनी गरिएको विप्लव समूहले जनाएको छ । टावरमा आगजनी भएपछि गएरातिबाटै जिल्लामा एनसेल मोबाइल अवरुद्ध भएको छ । 
 जिल्लामा नमस्ते मोबाइलकै हाराहारीमा एनसेल प्रयोगकर्ता छन् ।
        
                    
        
        
        
                                
                                                                        
        


        
        
        
        
        














