इटहरी / एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारी र जग्गा दलाल मिलेर मोरङ, सुनसरी र झापामा ठूलो परिमाणमा खराब कर्जा प्रवाह गरेका छन् । अप्ठ्यारोमा परेका सर्वसाधारणलाई २–३ लाख दिएर उनीहरूको धितोबाट २० लाखभन्दा बढी ऋण निकालेर अनियमितता गरेको पाइएको छ । धितो मूल्यांकनमा संलग्न इन्जिनियरहरूका अनुसार त्यतिखेर काठमाडौंबाटै बैंकका कर्मचारी र जग्गा दलालहरूको टोली नै आएको थियो ।

इटहरी शाखाबाट प्रवाह भएको ऋणमध्ये करिब ७० प्रतिशत खराब कर्जा रहेको अनुसन्धानमा संलग्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अधिकारीले बताएका छन् । एपेक्स बैंकका लागि विराटनगरको सुलेखा कन्सल्टेन्सीका सञ्चालक दिपांगत भगत र इटहरीको एफई कन्सल्टेन्सीका इन्जिनियर रविन थापाले धितो मूल्यांकन गरेका थिए ।

मूल्यांकन गरेका अधिकांश जग्गाका धनी आफूलाई थाहा नभएको दिपांगत भगतले बताए । बैंकका कर्मचारी र बिचौलियाले आफूलाई जग्गा देखाएको उनले बताए । ‘जग्गा देखाउने अरू नै थिए, जग्गाधनी त्यहाँ थिएनन् । कतिपय समस्या भएका जग्गा आफूले रिजेक्ट पनि गरेको थिएँ । एपेक्सका इटहरी शाखा म्यानेजर सागर न्यौपानेले दबाब दिएर पनि मूल्यांकन गराएका हुन्,’ भगतले नयाँ पत्रिकासँग भने, ‘केही ठाउँमा दलालहरूको सल्लाहमा बैंकका कर्मचारीले धितो बढी मूल्यांकन गर्न दबाब पनि दिएका थिए ।’ सागरले लोकन्थली शाखामा हुँदा पनि आफूलाई कम वा कमसल जग्गाको बढी मूल्यांकन गर्न लगाएको उनले बताए ।

२–४ लाख माग्नेको धितोबाट १५ लाखभन्दा बढी ऋण
एपेक्सबाट ऋण लिएकी झापा गरामनीकी मञ्जु राईको धितो मूल्यांकन गर्न एनसिसी बैंकको तर्फबाट दिपांगत भगत गएका थिए । राईले त्यतिखेर गाउँकै एक व्यक्तिसँग ४ लाख ऋण लिएको बताएकी थिइन् । तर, उनको जग्गा धितो राखेर पनि १५ लाख ऋण निकालिएको थियो । भगतले त्यतिखेर झापाका ४–५ वटा जग्गा मूल्यांकन गरेको बताए । सबै जग्गा बिचौलियाले देखाएको उनले बताए । अप्ठ्यारोमा परेका सर्वसाधारणलाई ३–४ लाख दिएर उनीहरूको धितोबाट बढी ऋण झिकिएको भगतले बताए ।

प्रमाण पानीले बगायो
धितो मूल्यांकनमा संलग्न इटहरीका इन्जिनियर रविन थापाले ऋण स्वीकृत गर्ने अन्तिम अधिकार बैंक कर्मचारीको भएकाले बदमासी पनि उनीहरूबाटै भएको बताए । आफूले धितोभन्दा बढी ऋण प्रवाह हुने किसिमले रिपोर्ट नदिएको दाबी उनले गरे । मूल्यांकन गर्ने क्रममा आफूले जग्गाधनीको नागरिकता मात्र पाएको तर वास्तविक ऋणीसँग भेट नभएको उनले बताए । आफूसँग भएका नागरिकता पनि बाढीले बगाएको उनले बताए । ‘आफूसँग केहीको नागरिकता र फोन नम्बर थियो, तर बाढीले कार्यालयमा भएको सबै सामग्री बगायो,’ उनले भने ।

धितो मूल्यांकन गर्ने इन्जिनियरहरू पनि अनुसन्धानमा
घोटालाको छानबिन गरिरहेको सिआइबीका वित्तीय अपराध हेर्ने डिएसपी श्यामबाबु ओलियाले ऋण प्रवाह गर्ने कर्मचारी, ऋण निकाल्ने व्यक्ति र धितो मूल्यांकन गर्ने इन्जिनियर सबैलाई कारबाहीको दायरामा ल्याइने बताए । थापा र भगतसहित एक दर्जन इन्जिनियरले धितो मूल्यांकन गरेको ऋणमा समस्या देखिएको उनले बताए । करिब डेढ सयभन्दा बढी शंकाको घेरामा रहेको डिएसपी ओलियाले बताए ।