धरान  / खस समाज प्रतिष्ठान र संयुक्त खस क्षेत्री नेपालबीच आज सम्पन्न संयुक्त बैठकले दुई संस्थालाई एकीकरण गरेर संयुक्त रूपमा अघि बढ्ने निष्कर्षमा पुगेको छ । 

शुक्रबार धरानमा बैठक बसी सांस्कृतिक, सामाजिक र परम्परागत मूल्यहरूको संरक्षण र सम्बर्द्धनका लागि  एकता आवश्यक भएको उनीहरुले जनाएका छन् । 

बैठकले हालसम्म अलग–अलग रूपमा क्रियाशील खस क्षेत्री समुदायका संस्थाहरूले वर्तमान परिवेशमा विभाजित रहेर सांस्कृतिक, सामाजिक र परम्परागत मूल्यहरूको संरक्षण गर्न कठिन भएको निष्कर्ष निकालेको छ। त्यसैले खस क्षेत्रीहरूको उत्थान, संरक्षण र सम्बर्द्धनका लागि संस्थागत एकीकरण नै उपयुक्त विकल्प हुने सर्वसम्मत निर्णय गरिएको खस क्षेत्री समाजका कोशी प्रदेश संयोजक हरबिहादुर कार्कीले जानकारी दिनु भयो । 

संयुक्त बैठकमा दुवै संस्थाका केन्द्रीय, प्रादेशिक र नगर तहका प्रतिनिधिहरू सहभागी हुनु भएको थियो ।  बैठकले “अत्यन्त अराजनीतिक रूपमा खस समुदायको साझा हितका लागि काम गर्न” प्रतिबद्धता जनाउँदै, एकीकृत संरचनाबाट सांस्कृतिक, शैक्षिक र सामाजिक कार्यक्रम अघि बढाउने सहमति गरेको छ।

त्यसैगरी, बैठकले खस समाज प्रतिष्ठानको स्थापना दिवस तथा बनभोज कार्यक्रम मिति २०८२ मंसिर ६ गते मनाउने तयारीलाई अन्तिम रूप दिने निर्णय गरेको छ। उक्त कार्यक्रमलाई दुवै संस्थाको एकता घोषणा समारोहको रूपमा समेत मनाइने भएको छ।

बैठकका सहभागीहरूका अनुसार, यो एकीकरणले देशभर रहेका खस क्षेत्री समाजका सदस्यहरूबीच एकता, पहिचान र सांस्कृतिक गौरव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।