मन्त्रिपरिषद् बैठक निर्णय: प्रहरी नेतृत्वदेखि मधेश प्रदेशकाे प्रमुख हेरफेरसम्म
- कार्तिक २४, २०८२
- २५ पटक पढिएको
काठमाडौं / सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सातवटा महत्वपूर्ण निर्णयहरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको उक्त बैठकका निर्णयबारे सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनु भयो ।
मन्त्री खरेलका अनुसार बैठकले नेपाल प्रहरीको ३३औं महानिरीक्षक (आइजिपी) मा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। हालका प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ कात्तिक २६ गतेबाट अवकाशमा जानुहुदैं छ ।
त्यस्तै, बैठकले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
एमालेको कोटाबाट प्रदेश प्रमुख बद्नेदनु भएकी भण्डारीले एमाले नेतृत्वको सरकार बनाउनका लागि आफ्नो संवैधानिक पदको समेत ख्याल नगरेपछि सोमबार दिनभर मधेशमा तनावको स्थिति उत्पन्न भएको थियो । उहाँले प्रदेश प्रमुखको कार्यालय भन्दा बाहिर गएर बर्दिवासको एक होटलमा सोमबार बिहान मुख्यमन्त्री नियुक्त गरी शपथ गराउनु भएको थियो ।
भण्डारीले संविधानमा भएको व्यवस्था एवं नजीरहरुको प्रतिकूल मधेश प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको एमालेको संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाउनु भएको थियो ।
मन्त्रिपरिषद्का ७ मुख्य निर्णयहरू
-नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीको नियुक्ति।
-राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने।
-भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ आयोगमा निजामतीतर्फ ४ जना र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने।
-भारतको नयाँ दिल्लीमा २०८२ कात्तिक २६–२८ गते हुने नेपाल–भारत समन्वय बैठक (९औं संस्करण) मा सहभागी हुन सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल संयोजक रहेको प्रतिनिधिमण्डललाई स्वीकृति दिने।
-भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने।
-२०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि स्वीकृति दिने।
-मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखका रूपमा सिफारिस गर्ने।