विराटनगर /  प्रदेश नम्बर १ को प्रदेशसभा नियामावली–२०७४ सर्वसम्मत रुपबाट पारित भएको छ । बिहीबार भएको प्रदेश सभाको वैठकले नियमावली सर्वसम्मत पारित गरेको हो । बुधबार प्रदेशसभा सदस्य एवं मस्यौदा समितिका संयोजक लीलाबल्लभ अधिकारीले सभामा पेस गरेको नियमावली बिहीबार प्रदेश सदस्यहरुले सर्वसम्मत रुपमा पारित गरेका हुन् ।

प्रदेश संसदले आफ्नो कार्य सञ्चालन, बैठकको सुव्यवस्था, विभिन्न समितिहरूको गठनका साथै प्रदेशसभाको काम, कारवाहीका लागि नियमावली बनाउने व्यवस्था संविधानको धारा १९४ मा रहेको छ । संसदमा नियमावली पास भए पछि सरकारबाट संसदले बिजनेस पाउने सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए ।
संसदको मुटुको रुपमा मानिने विषयगत समिति भने ७ वटा गठन गरिने छ । न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको कार्यक्षेत्रसमेत तोकेर नियमावली बनाइएको हो । नियमावलीमा २६ परिच्छेद, ७ वटा अनुसूची २ सय ११ नियम रहेका छन् । अागामी १४ गते अर्काे सभा बस्ने गरि विहीबारकाे बैठक सकिएकाे छ ।