धरान / धरानमा खानेपानी ट्यांकी निर्माणको विषयलाई लिएर दुई पक्ष विच झडप भएको छ । धरान १४ स्थित निर्माणाधिन खानेपानी टयाङकी निर्माणको बिषयलाई लिएर झडप भएको हो ।
एडिविको सहयोगमा धरान उपमहानगरपालिकाले विजयपुर दरवार क्षेत्रमा ट्याङकी निर्माण मंगलबारदेखि शुरु गरेको थियो । लिम्बुजन्य बिभिन्न संघसंस्थाले आप्mना पुर्खा किराँतीहरुको ईतिहास मेटीने काम भएको भन्दै निर्माण कार्य रोक्ने क्रममा सो झडप भएको प्रहरीले जनाएको छ ।
विजयपुर दरबार परिषर संरक्षण राजनैतिक संघर्ष समितिको नेतृत्वमा पुगेको समुहले ट्यांकी निर्माणमा अबरोध गर्दै प्रहरीमाथि आक्रमण गर्न खोजेपछि अश्रुग्याँस प्रहार भएको प्रहरीले जनाएको छ । धरान उपमहानगरपालिकाले धरान १४ स्थित विजयपुर क्षेत्रमा खानेपानी वितरणका लागि छ लाख लिटर क्षमताको ट्यांकी निर्माण कार्य सुरु गरेको थियो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले ट्यांकी निर्माणमा अबरोध पु¥याउदै ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुन थालेपछि बाध्य भएर अश्रुग्याँस प्रहार गरेको जनाए ।
घाईते मध्ये पाँच जनाको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ । प्रतिष्ठानमा इटहरीका नैनकुमार विक ,भोक्राहाका हलिम मियाँ, इलामका खाङसाङ लावती, धरानका रोहित लिम्बु र प्रेम मादेनको उपचार भई रहेको प्रतिष्ठानस्थित अस्थाई प्रहरी पोष्टले जनाएको छ ।
धरान उपमहानगरपालिकाले स्थिति साम्य पार्न ट्याङकी निर्माण कार्यलाई केही समयका लागि स्थगीत गर्ने निर्णय गरेको छ ।  केही समय अघि धरान उपमहानगरपालिकाले ४ वटा किरातजन्य संस्थाहरुसँग छलफल गरि काम सुचारु गर्ने सहमति गरेको थियो । ती संस्थाका जिल्ला तथा केन्द्रले सहमति दिए पनि स्थानीय समितिले विरोध गर्दै आएका थिए । निर्माण कार्यलाई अवरुद्ध गर्न धरान बाहिरबाट ५ गाडी युवाहरु धरानमा उतारेर भिडन्तको स्थिति ल्याइएको नेकपा एमाले धरान नगर कमिटि अध्यक्ष नारायण सुवेदीले आरोप लगाएका छन् । भाडामा मान्छे ल्याएर धराने जनतालाई पानी खुवाउन गरिएको काममा अवरोध गर्नु निन्दनीय भएको सुवेदी बताउछन् ।
करिब आधा घण्टा घम्साघम्सि भएपछि समुह निर्माण स्थलबाट फर्किएको थियो । संघर्ष समितीले विजयपुरबाट फर्किएपछि भानुचौकमा कोणसभा पनि गरेको थियो ।
कोणसभामा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सचिवालय सदस्य केदार उप्रेती,संघर्ष समितीका पुर्व संयोजक सुवास हुक्पाचोङवाङ,मङगोल नेसनल अर्गनाईजेसनका दिनेस वान्तावा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगर अध्यक्ष सञ्जुहाङ सावाले बोलेका थिए ।