धरान / विगतमा पुरा हुन नसकेको विकासका योजनाहरु बाम गठबन्धनको प्रदेश र प्रतिनिधि सभामा बहुमतको सरकारले अबको ५ वर्षमा पुरा गर्ने सुनसरी क्षेत्र नम्बर १ ख तर्फका बाम गठबन्धनका साझा उम्मेदवार भिम आचार्यले प्रतिबद्धता जनाएका छन् ।
बराहनगरपालिकाको वडा नम्बर २ र ३ मा भएको बामगठबन्धनका उम्मेदवारहरुको घरदैलो र कोणसभामा एमाले सचिवसमेत रहेका आचार्यले विगतमा कम्युनिष्ट नेतृत्वको अल्पमतको सरकारले जनचाहना अनुसार काम गर्न खोज्दा कांग्रेस लगायतका पार्टीले सरकार ढाल्ने खेल खेलेकोले विकासका योजनाहरु पुरा गर्न नसकेको बताए । ‘कम्युनिष्ट सरकारले केही राम्रो काम गर्न खोज्यो कि सरकार ढालिहल्ने, त्यतिबेला अधुरो रहेको विकाशका योजनाहरु अब हामी पुरा गर्छौ’, उनले भने,‘५ वर्षे स्थायी सरकारले जनताका अधिकार, विकास निर्माणको कामहरु पुरा गर्छा ।’
संविधानमा उल्लेख गरिएका जनताको अधिकार र देश विकाशमा बामगठबन्धनको स्थायी सरकारले मात्रै पुरा गर्न सक्ने उनले जिकिर गरे । जनहितका लागि बनेका विकाशका योजनाहरु लोकप्रिय हुन थाले पछि पटक पटक विगतमा कम्युनिष्टको सरकार गिराउने निष्कृट खेल भएको उनले आरोप लगाए । ‘नेपाली कांग्रेसले बहुमतको सरकार बनाउँदा पनि विकाशका कामहरु गर्न सकेन’, उनले भने, ‘हामीले गर्न खोजेको कार्यहरु पनि रोकिदियो ।’ समृद्ध नेपाल बनाउन प्रदेश र प्रतिनिधी सभामा बामगठबन्धनलाई उम्मेदवारहरुलाई जिताउन उनले आग्रह गरे ।
कार्यक्रममा प्रतिनिधी सभाका उम्मेदवार जय कुमार राईले मंसिर २१ गते राष्ट्रघाती पार्टी र राष्ट्रियता बोकेको पार्टीहरु बिच छनौट गरेर मतदानमार्फत निर्णय गर्ने दिन भएको बताए । नेपाली जनताले बनाएको संविधानको विरोधमा भारतले नाकाबन्दी लगाउँदा भारतलाई थप सहयोग गर्ने राष्ट्रघाती पार्टीहरुलाई पाखा लगाउँदै राष्ट्रियताको पक्षमा अडिग रहने पार्टीलाई मतदान गर्न उम्मेदवार राईले आग्रह गरे । स्थानीय विकाशको चर्चा गर्दै राईले राजनितिक संक्रमणकालको अवश्थामा पनि बामगठबन्धनको सरकारले नेतृत्व गरेको समयमा थुप्रै विकाशको कार्यहरु भएको उल्लेख गरे । ‘बराहक्षेत्रको विकाशमा थोरै समयमै भए पनि बामगठबन्धनले थुप्रै कामहरु गरेको छ’, उनले भने, ‘बाटो, पिच, सप्तकोशीमा पुल, सडक बिस्तारहरु एमालेका सचिव तथा उम्मेदवार भीम आचार्यको समयमा बनेको हो ।’ लोकतन्त्रलाई खतरा बनाउने नेपाली कांग्रेस र संघीय समाजवादी फोरमको गठबन्धनलाई परास्त गर्ने समय आएको उनले बताए ।
बामगठबन्धनले बराहक्षेत्र नगरपालिकाको वडा नम्बर २, ३ का गाउँहरुमा घरदैलो सहित कोणसभा गरेको थियो । समानुपातीक तर्फ नेकपा माओवादी केन्द्रकी उम्मेदवार उमिता बराईली सहित केन्द्रका केन्द्रिय सदस्य पुष्प ढुङ्गाना लगायतले कोणसभालाई सम्बोधन गरेका थिए ।