राजविराज– जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गतका सेवालाई स्थानीय तहमा थप प्रभावकारी वनाउन सप्तरीमा सरोकारवालासँग छलफल र सुझाव संकलन सुरु भएको छ ।

यसैक्रममा कार्यालयले पत्रकारहरुसँग अन्तक्र्रिया गरी सुझाव संकलन गरेको छ । जनस्वास्थ्य प्रमुख ज्ञानवहादुर वस्नेतले कार्यालयवाट वर्षभरी भएका गतिविधिवारे जानकारी दिदै यसलाई अझ परिस्कृत रुपमा कसरी अगाडि वढाउन सकिन्छ भन्दै सुझाव माँगे ।

संघिय संविधानमा ब्यवस्था भए अनुसार आगामी चैत २८ देखि जनस्वास्थ्य कार्यालय स्थानीय तह मार्फत सञ्चालन हुने जानकारी गराउँदै सेवा अझ प्रभावकारी वनाउन जिल्ला स्थित सवै स्थानीय तहमा स्वास्थ्य संयोजक तथा सह संयोजक खटाईएको वताए ।

उनले स्वास्थ्यका कर्मचारी र स्थानीय तह विचको संयुक्त प्रयास र समन्वयमा स्वास्थ्य सेवाले अझ गति लिने विश्वास पनि ब्यक्त गरे । कार्यक्रममा सञ्चारकर्मीहरुले कार्यालयवाट सिफारिस भई विभिन्न संघसंस्थाले पाएको एम्वुलेन्सको सदुपयोग भए/नभएको, ल्याव, पोली क्लिनिक, औषधी पसलहरु मापदण्ड अनुसार चले/नचलेको विषयमा कडाईका साथ अनुगमन हुनुपर्नेमा जोड दिएका थिए ।

कुल ६ लाख ९१ हजार ७८४ जनसंख्या रहेको सप्तरीमा हाल २ अस्पताल, ४ प्राथमिक स्वास्थ्य केन्द्र, १११ स्वास्थ्य चौकी, ४५९ खोप क्लिनिक, ४०७ गाउँघर क्लिनिक, ३ शहरी स्वास्थ्य क्लिनिक, १ सामुदायिक स्वास्थ्य क्लिनिक मार्फत सेवा प्रदान गर्दै आएको छ । जिल्लाभरी १ हजार ७४ महिला स्वास्थ्य स्वयम् सेवीका समेत परिचालित रहेको प्रमुख वस्नेतले जानकारी दिए ।