राजविराज– संविधानमा राज्यका सवै निकायमा दलितलाई समानुपाति र समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्वको ब्यवस्था गरिए पनि ब्यवहारमा त्यस्तो हुन नसकेको राजविराजमा आयोजित एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् ।
जागरण मिडिया सेन्टरले आयोजना गरेको ‘राजनितिमा दलित समुदायको पहुँच’ विषयक मिडिया सम्वाद कार्यक्रममा वोल्दै सहभागि वक्ताहरुले यस्तो गुनासो गरेका हुन् । संविधान प्रदत्त अधिकार लागु गर्न गराउन सम्वद्ध सवै पक्षलाई आ–आफनो क्षेत्रवाट पहल गर्न उनीहरुले सुझाव पनि दिए।
दलित सरोकार मञ्च नेपालका भोला पासवानले नयाँ संविधानको धारा ४० मा राज्यका सवै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धाञ्तका आधारमा सहभागि हुने हक प्रदान गरिएपनि हालै सम्पन्न स्थानीय, प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभाको निर्वाचनमा संवैधानीक ब्यवस्था अनुसार दलितले अवसर नपाएको गुनासो पोखे ।
संविधानमा आफु अनुकुल ब्याख्या गरी राजनितिक दलले दलित समुदायलाई भोट वैंकको रुपमा मात्रै सिमित वनाएको उनको भनाई थियो । चुनावका वेला दलित समुदायको भोट लिन विभिन्न खाले आश्वासन दिने राजनितिक दलका नेताले चुनाव जितेपछि आश्वासन विर्सने गरेको उनको आरोप छ ।
अन्य दलित अगुवाहरुले राजनितिक र प्रशासनिक क्षेत्रमा दलितको प्रतिनिधित्व विगत भन्दा पनि कमजोर वन्दै गएको भन्दै सम्मानजनक सहभागिताका लागि नयाँ ढंगले अघि वढ्नुपर्नेमा जोड दिए । कार्यक्रम, दलित अगुवा युक्तिलाल मरिकको अध्यक्षतामा सम्पन्न भएको हो ।